काठमाडौं– नेपाली घरेलु क्रिकेटमा सर्वाधिक सफल कप्तानको निर्विकल्प नाम हो शरद भेषावकर। उनले कप्तानी गरेका टोली घरेलु प्रतियोगितामा अक्सर फाइनलमा पुगेका छन्। बुधबार सकिएको प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा पनि उनको नेतृत्व प्रभावशाली रह्यो। फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै शरदले कप्तानी गरेको नेपाल एपीएफले उपाधि जित्यो। घरेलु प्रतियोगितामा शरदको यो चौथो उपाधि हो।
सन् २०१४ मा जोह्रा स्पोर्टस् व्यवस्थापन र नेपाल क्रिकेट संघ (क्यान)ले गरेको नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलोपटक शरदले आफ्नो टिमलाई उपाधि दिलाएका थिए। नेपालमा पहिलोपटक भएको फ्रेन्चाइजी लिगमा उनको टोली पञ्चकन्या तेजले ‘वान डे’तर्फको उपाधि जितेको थियो। धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाइनलमा तेजले शक्ति गौचनले नेतृत्व गरेको जगदम्बा जायन्ट्सलाई ९७ रनले हराएको थियो।
सन् २०१६ मा एभरेस्ट प्रिमियर लिग (ईपीएल)को फाइनलमा पञ्चकन्या तेज ज्ञानेन्द्र मल्ल नेतृत्वको कलर्स एक्स फ्याक्टरलाई ४० रनले पराजित गर्दै च्याम्पियन बन्यो। राउण्ड रोविन लिगमा खेलाइएको प्रतियोगितामा पञ्चकन्या सबैभन्दा अब्बल थियो। त्यो टिमले प्रतियोगितामा कुनै पनि खेल हारेन। त्यति बेला शरदले पञ्चकन्यालाई च्याम्पियन मात्रै बनाएनन्, आफूलाई सम्भावना बोकेको कप्तानको रुपमा समेत चिनाए।
त्यसपछि शरदलाई राष्ट्रिय टोलीको कप्तानी सम्हाल्नसक्ने खेलाडीको रुपमा हेरिन थालियो। पारस खड्का कप्तान भए पनि अब उनको ठाउँ ज्ञानेन्द्र मल्ल वा शरद भेषवाकरले लिन सक्ने विकल्प खुला थिए। तीनै जनासँग राष्ट्रिय टोलीमा लामो समय बिताएको अनुभव थियो।
राष्ट्रिय टिममा ज्ञानेन्द्र ‘टेक्निकल’ खेलाडीको रूपमा चिनिन्थे। उनको ‘क्लासिक सट’ अहिले पनि उस्तै आकर्षक हुन्छ। शरदले भने उत्कृष्ट ‘फिनिसर’को दर्जा पाएका थिए। एक दिवसीयमा मध्यपंतिलाई धैर्यतापूर्वक सम्हाल्ने शरदको अर्को छवि पनि थियो। ज्ञानेन्द्र र शरद दुवैले राष्ट्रिय टोलीलाई धेरैपटक जितसम्म पुर्याएका उदाहरण थिए।
उपकप्तानको जिम्मेवारीमा रहेकाले ज्ञानेन्द्रले पारसको अनुपस्थितिमा 'बेला मौका'मा टोलीको नेतृत्व गर्दै आएका थिए। शरदसँग राष्ट्रिय टोलीको नेतृत्व गरेको अनुभव थिएन। तर, घरेलु प्रतियोगितामा राष्ट्रिय खेलाडीहरूको नेतृत्व गरेको अनुभव भने थियो।
घरेलु ठूला प्रतियोगितामा ज्ञानेन्द्रले एपीएफबाट सहभागिता जनाउनुका साथै एनपीएलमा र ईपीएलमा कलर्स एक्स फ्याक्टरको कप्तानी गरेका थिए। त्यस्तै, धनगढी प्रिमियर लिग (डीपीएल)मा अत्तरियाको कप्तानी गरेका थिए।
यता, शरदले एनपीएल तथा ईपीएलमा पञ्चकन्या तेजको नेतृत्व गरेका थिए। दुवै प्रतियोगितामा शरदले पञ्चकन्या तेजलाई उपाधि पनि दिलाएका थिए। तर, उनी सातौं राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुनै टिममा पनि देखिएनन्। उनले व्यक्तिगत कारणले प्रतियोगिता खेलेनन्। सातौँ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पारस खड्काको कप्तानीमा रहेको एपीएफले उपाधि जित्यो।
त्यसलगत्तै भएको दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगितामा राष्ट्रिय प्रतियोगिताको च्याम्पियन एपीएफ, नेपाली राइनोजसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। राइनोजको कप्तानी उनै शरद भेषवाकरले गरेका थिए।
ईपीएलको पहिलो संस्करणमा नै टिमलाई उपाधि जिताएका उनले अरु दुई संस्करणमा लगातार फाइनल खेले। डीपीएलका तीनमध्ये दुई संस्करणको फाइनल खेले भने एउटामा व्यक्तिगत कारणले भाग लिएनन्। पोखरा प्रिमियर लिग (पीपीएल) को पहिलो संस्करणमा नै टिमलाई च्याम्पियन बनाएका उनले दोस्रो संस्करणमा भने समूह चरणबाट माथि लैजान सकेनन्। पीएम कपको तेस्रो संस्करणमा टिमलाई उपविजेता बनाउँदा चौथोमा च्याम्पियन नै बनाए।
यी प्रतियोगिताबाहेक राष्ट्रिय टोलीमा भने उनको प्रदर्शन उतार–चढावपूर्ण रह्यो। तर, केही सम्झनलायक प्रदर्शनले उनी प्रतिभाशाली खेलाडी भएको प्रमाणित गर्छ। २०७३ वैशाखमा कीर्तिपुरमा भएको नामिवियाविरुद्धको एक दिजसीय खेलमा गरेको प्रदर्शनले राष्ट्रिय टोलीमा उनको महत्व स्थापित गरेको थियो। सो खेलमा नेपालले संघर्षपूर्ण ३ विकेटको जित निकाल्दा तेस्रो नम्बरमा आएका शरद ७४ रन बनाउँदै अविजित रहे।
त्यतिखेर नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक पूर्वकप्तान विनोद दास थिए। उनले शरद नेतृत्वका लागि योग्य भए पनि पारसको अनुपस्थितिमा ज्ञानेन्द्र नै कप्तान हुने बताए। त्यतिखेर विनोदले भनेका थिए, ‘नियमित कप्तानको अनुपस्थितिमा उपकप्तानले जिम्मेवारी पाउने परम्परा नै हो। ज्ञानेन्द्र र शरद दुवैसँग क्रिकेटको लामो अनुभव छ। दुवैसँग उत्तिकै नेतृत्व क्षमता छ। अहिले हामी जसरी चलिरहेका छौं, त्यसैलाई निरन्तरता दिने हो।’
हुन त उमेर समूह हुँदै २००९ देखि राष्ट्रिय टिमको कप्तानी सम्हालेका पारसलाई त्यतिखेर पनि नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान मानिन्थ्यो। उनकै नेतृत्वमा नेपालले बंगलादेशमा भएको २०१४ को टि२० विश्वकप खेलेको थियो। जुन नेपाली खेलकुदको सबैभन्दा माथिल्लो र ऐतिहासिक उपलब्धि हो।
२०७३ वैशाखमा कीर्तिपुरमा भएको नामिवियाविरुद्धको एकदिवसीय खेलमा गरेको प्रदर्शनले राष्ट्रिय टोलीमा उनको महत्व स्थापित गरेको थियो। सो खेलमा नेपालले संघर्षपूर्ण ३ विकेटको जित निकाल्दा तेस्रो नम्बरमा आएका शरद ७४ रन बनाउँदै अविजित रहे।
पारस नेतृत्वका लागि मैदान भित्र र बाहिर उत्तिकै सफल मानिन्छन्। मैदानमा पारसको ब्याट बोल्थ्यो भने मैदान बाहिर तथा टिम मिटिङमा उनको रणनीति। खेलाडीहरूलाई उत्प्रेरित गर्न पनि उनी माहिर थिए। टिमलाई एकताबद्ध बनाउँदै नतिजाउन्मुख गराउन सफल थिए। त्यसैले नेपाली टिममा तत्काल पारसको नेतृत्वको विकल्प खोजिनु आवश्यक थिएन।
कतिपय सन्दर्भमा भने पारसको अनुपस्थितिमा नेपाली राष्ट्रिय टोलीको नेतृत्व कसलाई दिँदा उपयुक्त होला भन्ने बहस हुन्थ्यो। क्यान निलम्बनको बेला चलेको यो बहसको चेपुवामा उनै शरद परे। त्यतिखेर पारस ‘आफू नै क्यान, आफू नै प्रशिक्षक’ थिए। अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले उनीसँगको समेत समन्वयमा काम गर्थ्यो। उनले जे भन्यो त्यही हुने कारण पनि उनको ‘हुकुमी शैली’ क्रिकेटमा हाबी भयो। उनले शरदलाई भन्दा ज्ञानेन्द्रलाई प्राथमिकतामा राखे।
त्यतिखेर छिमेकी देश भारतीय क्रिकेटमा पुस्ता हस्तान्तरण हुँदै थियो। सचिन तेन्दुल्कर, सौरभ गांगुली, राहुल द्रविडपछि महेन्द्रसिंह धोनी हुँदै विराट कोहलीलाई टी२० क्रिकेटमा कप्तानको जिम्मेवारी दिइएको थियो। तर, यता भने पारसको ठाउँ उही पुस्ताका ज्ञानेन्द्रले लिने वातावरण बन्दै थियो।
पारसले टिममा ‘एकलौटी’ गर्दा पनि उनीविरुद्ध कुनै खेलाडीले आवाज उठाउन सकेनन्। न त शरदले नै खुलेर बोल्न सके। तर, उनले त्यतिखेर भनेका थिए, ‘नेतृत्व व्यवस्थापकीय कुरो पनि हो, खेलाडीले भन्दा व्यवस्थापकले को खेलाडीलाई नेतृत्व दिने भन्ने विषयमा सोच्नुपर्छ।’
विश्वका सर्वाधिक चर्चित खेलाडीहरुले पनि आफ्नो कप्तानीमा उपाधि दिलाउने सपना हत्तपत्त पूरा गर्न सक्दैनन्। टोलीको नेतृत्वमा घरेलु प्रतियोगितामा पारस र ज्ञानेन्द्रभन्दा सधैँ शरद अब्बल देखिएका छन्। तर, उनले राष्ट्रिय टोलीमा भने अवसर पाएनन्।
घरेलु प्रतियोगितामा रवाफ
डीपीएलमा शरदले खेलेका दुवै संस्करणमा आफ्नो टोलीलाई फाइनल पुर्याएका छन्। सन् २०१७ को डीपीएल फाइनलमा शरदको कप्तानीमा रहेको विराटनगर किङ्स पारसको धनगढी टिम चौराहसँग ६२ रनले पराजित भयो। दोस्रो संस्करण अर्थात् सन् २०१८ को डीपीएल शरदले व्यक्तिगत कारण (अमेरिकामा रहेका)ले गुमाए।
तेस्रो संस्करणको डीपीएलमा शरदको नेतृत्वमा महेन्द्रनगर युनाइटेड फाइनलमा पुग्यो। सुरुआती दुई खेलमा पराजित भएको महेन्द्रनगरका त्यसपछिका दुवै खेल वर्षाको कारण नतिजाविहीन बन्यो।
चार खेलमा २ अंक भएपछि धेरैले शरदको टोली लिगबाटै बाहिरिने लख काटेका थिए। तर, अन्तिम खेलमा जितका साथ प्लेअफमा पुग्यो। अनि सबैलाई आश्चर्यमा पार्दै फाइनलको यात्रा गरेको थियो। फाइनलमा दिपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहेको सीवाईसी अत्तरियासँग ३ विकेटले पराजित भएको थियो।
त्यसपछि शरदको नेतृत्वमा विभिन्न टोलीले पाँच प्रतियोगिताका तीन वटा फाइनल खेलेका छन्। तर, सन् २०१९ मा भएको पीपीएलको दोस्रो संस्करणमा उपाधि दाबेदार मानिएको टोली पोखरा पल्टन समूह चरणबाटै बाहिरियो। त्यतिबेला टिमको व्यवस्थापनका कारण पोखरा पल्टन समूह चरणबाटै बाहिरिँदा शरदको ‘फाइनलिस्ट’को छविमा ‘ब्रेक’ लाग्यो। उक्त सिजन व्यवस्थापनले विदेशी खेलाडी ल्याउन समयमा पहल गरेन भने नेपाली खेलाडीहरुसँग पनि सम्झौता गरेन। व्यवस्थापनले खेलाडीको आत्मविश्वास बढाउने काम गर्न नसकेपछि त्यसको आलोचना र अपजस भने उनै शरदले खेप्नु परेको थियो।
पोखराको प्रशिक्षण सम्हालेका विनोद दास सांकेतिक रुपमा उनै ‘नरुचाइएका’ कप्तान शरदमाथि नै खनिए। ‘व्यवस्थापनबाट कमजोरी भएको हो। तर, त्यो कारणले नै खेल प्रभावित भएको होइन। राम्रो नखेलेकोले लिग चरणबाट बाहिरिएका हौं,’ त्यसबेला विनोदले भनेका थिए।
शरद भने आशावादी नै थिए। उनले भनेका थिए, ‘पहिलो खेलपछि जसरी खेल्यौं, प्लेअफमा पुग्नेजस्तो खेल भएन। विदेशी खेलाडी ल्याउने प्लानिङ भएन, टिम पनि ब्यालेन्स भएन यो पटक। अब अर्को पटक राम्रो टिम बनाएर आउछौं,’ उनले भनेका थिए।
त्यसपछि आयोजना भएका तीन प्रतियोगितामा उनले पुरानो ‘फाइनलिस्ट’ छविलाई ब्युँताए। गत वर्ष शरदले एपीएफलाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रातियोगिता र काठमाडौं मेयर्स कप दुवैमा कप्तानी गर्दै फाइनलसम्मको यात्रा तय गराए। प्रधानमन्त्री कपमा एपीएफ फाइनलमा आर्मीसँग ३३ रनले पराजित भएको थियो। काठमाडौं मेयर्स कपको फाइनलमा भने एपीएफ पुलिससँग ८ विकेटले पराजित हुँदा उपाधि चुम्न असफल भयो।
यता, ईपीएलको चौथो संस्करणले शरदको आफ्नो छविलाई केही असर पार्ने काम गर्यो। सन् २०१७ को ईपीएलमा फाइनलमा विराटनगर वारियर्ससँग १ रनले पराजित भएको भैरहवा ग्ल्याडियटर्स २०१८ को फाइनलमा ललितपुर प्याट्रियट्ससँग १४ रनले पराजित भयो। तर, यसपटक उनको टोली भैरहवा दोस्रो क्वालिफायर्समा पोखरा राइनोजसँग ७ विकेटको लज्जास्पद हार बेहोर्दै फाइनल पुग्न चुक्यो।
आशावादी शरद
शरदको सबैभन्दा राम्रो गुण भनेको हार नमान्नु नै हो। पाँच प्रतियोगितामा उपविजेता बनेका शरद खेलको जुनसुकै समयमा पनि डटेर भिड्न आफ्ना साथीहरूलाई हौस्याइरहेका हुन्छन्। यसपटक पीएम कपको उपाधि त्यसकै परिणाम थियो। उनी भन्छन्, ‘प्रदिप ऐरी, आशिफ शेखले सबै खेलमा राम्रो सुरुवात दिएकोले फाइनलसम्मको यात्रामा सजिलो भयो। किशोर महतो र अविनाश बोहराको डेथ ओभरको बलिङ र योर्करहरु पर्फेक्ट भयो। दुई वटा फाइनल पुगेर हारेका थियौं। धेरैपछि फाइनल जित्न पाउँदा पुरै टिम एकदमै खुसी छौं।’
असल कप्तान विना कागजी रुपमा बलियो भएर पनि टोली सफल हुन सक्दैन। कुनै पनि खेलाडीको कप्तानी गुण चिन्ने र पहिचान गर्ने अवसर घरेलु क्रिकेट र उमेर समूह हो। उनको यो गुण क्यानले चिन्यो या चिनेन, पदाधिकारी, प्रशिक्षक र व्यवस्थापकले जान्ने विषय हो। तर, शरद आफ्नो टिमको खेलाडीको क्षमता भने अवश्य चिन्छन्।
अलराउन्डर कुशल मल्ल, ब्याट्सम्यान आसिफ शेख, रोहितकुमार पौडेल, तीव्र गातिका बलर अविनाश बोहरालगायतका धेरै युवा स्टारलाई आफ्नै कप्तानीमा उत्कृष्ट प्रदर्शनका साथ नेपाली टोलीमा स्थान दिलाइदिएका शरद यसपटक पनि केही आशालाग्दा खेलाडी उत्पादन भएको बताउँछन्।
‘युवा खेलाडीको आगमन भएको छ। उनीहरु डररहित खेलिरहेका छन्। अहिले नेपाली क्रिकेटमा ठूलो परिवर्तन देखिएको छ,’ उनी भन्छन्, ‘जुन ट्रेन्ड नेपाली क्रिकेटमा थिएन, त्यो बिस्तारै विकास हुँदै गएको छ। आउने प्रतियोगिताका लागि टप अर्डर बलियो देखिएको छ।’
उनले भनेजस्तै यसपटक लोकेश बम र विवेक यादवले राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। प्रदीप ऐरी, शाहब आलम, कमलसिंह ऐरी टोलीमा फर्किएका छन्। शरद आफैँ पनि टी–२० टोलीमा पुनः फर्किएका छन्। नेपालले आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्दैछ।
यसपटक न पारस खड्का कप्तान छन्, न ज्ञानेन्द्र मल्ल नै। क्यानले कप्तान परिवर्तन गर्दा शरद पनि नजरमा परेनन्। युवा खेलाडी सन्दीप लामिछाने नयाँ कप्तान छन्। तर, शरदजस्ता टिमका ‘सिनियर’ खेलाडीको भूमिका भने पक्कै महत्वपूर्ण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।