काठमाडौं- भारतीय टेनिस खेलाडी सानिया मिर्जाले यसै वर्ष खेल करिअरबाट सन्यास लिने बताएकी छन्।
बुधबार अस्ट्रेलियन ओपनको पहिलो चरणमा पराजित भएपछि पत्रकार सम्मेलनमा बोल्दै उनले यो नै आफ्नो खेल करिअरको अन्तिम सिजन रहेको बताएकी हुन्।
‘यो मेरो खेल जीवनको अन्तिम सिजन हो। यो सिजन सक्याएर खेल जीवनको अन्त्य गर्ने सोचेको छु। तर, यस सिजन पुरै खेल्न सक्छु कि सक्दिनँ त्यो निश्चित छैन,’ उनले भनिन्।
विश्व वरियताको डबल्सतर्फ ६८औं स्थानकी मिर्जाले डबल्समै २०१६ को अस्ट्रेलियन ओपन उपाधि जितेकी थिइन्।
यस्तै, २०१५ मा विम्बलडन र युएस ओपनको उपाधिसमेत जितेकी मिर्जा बुधबार अस्ट्रेलियन ओपनको पहिलो चरणबाटै बाहिरिएकी थिइन्।
सानिया र नादिया किचेनओकको जोडी वरियताको २९औं स्थानकी टमारा जिदानसेक र ८९औं स्थानकी काया जुवानको जोडीसँग ६–४ ७–६ (७–५) को सेटमा पराजित भएका थिए। किचेनओक वरियताको ३१औं स्थानमा छिन्।
३५ वर्षीया मिर्जा डबल्समा विश्व नम्बर १ खेलाडीसमेत बनेकी थिइन् भने सिंगल्समा २७औं स्थानमा पुगेकी थिइन्।
मिर्जा ग्राण्डस्लाम जित्ने पहिलो भारतीय महिला खेलाडी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।