काठमाडौं- सोफिया केनिन जारी सिजनको अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएकी छन्।
मेलबर्न पार्कमा सोमबार भएको पहिलो चरणको खेलमा सन् २०२० मा अस्ट्रेलियन ओपन च्याम्पियन केनिन म्याडिसन किजसँग ७–६ (७–२) ७–५ को नतिजामा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन्।
सन् २०१८ बाट अस्ट्रेलियन ओपनमा डेब्यू गरेकी केनिनले २०२० मा उपाधि उचालेकी थिइन्। गत वर्ष साविक विजेताको रूपमा मेलबर्न पुगेकी उनी दोस्रो चरणबाट बाहिरिएकी थिइन्।
यस्तै, युवा टेनिस स्टार कोको गौफ पनि पहिलो चरणबाटै बाहिरिएकी छन्। मेलबर्न पार्कमा सोमबार सम्पन्न खेलमा अमेरिकी युवा स्टार गौफ चीनकी छ्यङ वाङसँग ६–४ ६–२ को सोझो सेटमा पराजित भइन्।
विश्व वरियताको १९औं स्थानकी १७ वर्षीय गौफ वरियताको एक सय १२औं स्थानकी ३० वर्षीय वाङसँग पराजित भएकी हुन्। वाङ गत वर्ष ओपनको पहिलो चरणबाटै बाहिरिएकी थिइन्। गौफ भने दोस्रो चरणसम्मको यात्रा तय गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।