काठमाडौं- चन्द्रागिरि नगरपालिका-८, गुर्जुधाराका रोशन रिजाललाई चुच्चो भएको हतियार प्रहार गरी हत्या गरको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका-१० घर भइ हाल चन्द्रगिरि नगरपालिका- ५ बस्ने २१ वर्षीय अभिषेक बस्नेत र उनका १९ वर्षीय भाइ अनुज बस्नेत रहेका छन्।
महानगरीय अपराध महाशाखाका अनुसार उनीहरुले आइतबार रोशन र चन्द्रागिरि नगरपालिका-१ दहचोक बस्ने निरज मगरलाई आइतबार दिउँसो करिब १ बजे चुच्चो भएको हतियार प्रहार गरी घाइते बनाएका थिए। उपचारको क्रममा रोशनको सोही दिन दिउँसो २ बजे मृत्यु भएको थियो।
त्यसपश्चात् महानगरीय प्रहरी प्रभाग बलम्बु, महानगरीय प्रहरी वृत्त, थानकोट र महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रहरी टोली खटिइ घटनामा संलग्नहरुको पहिचान तथा खोजतलास गरिएको थियो। महाशाखाका अनुसार फरार रहेका अनुजलाई आइतबार दिउँसो ३ बजेको घर नजिकैबाट पक्राउ गरिएको हो।
यस्तै, फरार रहेका अभिषेकलाई जिल्ला प्रहरी कार्यालय, धादिङसँगको सहकार्यमा निलकण्ठ नगरपालिकामा लुकिछिपी बसेको स्थानबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ।
घटनामा प्रयोग भएको धारिलो तथा चुच्चो भएको हतियार मध्ये फलामे कैची १ र फलामे दाउ थान १ बरामद भएको छ। घटनामा घाइते भएका निरजको अवस्था भने खतरामुक्त रहेको महाशाखाले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई सोमबार काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर महानगरीय प्रहरी वृत्त, थानकोटबाट थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।