तस्बिर– तिर्थराज घिमिरेको फेसबूकबाट
श्रीअन्तु– इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुमा रहेको इलाम टी प्रोड्युसर्स प्रालिद्वारा सञ्चालित अन्तु भ्याली टी स्टेटमा आगलागी भएको छ। दिउँसो साढे ३ बजेदेखि सुरु भएको आगलागीले चिया उद्योग जलेर नष्ट भएको जनाइएको छ।
विद्युत् सर्ट भएर आगलागी भएको आशङ्का गरिएको छ। आगलागी नियन्त्रणमा खटिएका स्थानीय रुद्र घिमिरेका अनुसार इञ्जिन कोठा, कार्यालय तथा आवास क्षेत्र जलेर नष्ट भएको छ।
त्यस्तै भित्र रहेको ७० देखि ८० हजार किलो तयारी चिया समेत फ्याक्ट्री भित्रै रहेको र जलेर नष्ट भएको आगो नियन्त्रणमा खटिएका स्थानीयले जनाएका छन्।
आगलागीबाट उद्योगमा रहेका २ वटा ड्रायर मेसिन, ५ वटा रोलिङ टेबुल, ३ वटा हिटर मेसिन, ५ वटा सर्टिङ मेसिन,२४ वटा वेदरिङ ट्रफ जलेर नष्ट भएको छ।
इलाम टी प्रोड्युसर्स प्रालिका प्रबन्धक ओमकार काफ्लेका अनुसार आगलागीबाट कार्यालय भवन, स्टाफ क्वार्टर र जेनेरेटर रुम बाहेक अरू सबै संरचना नष्ट भएको छ।
आगलागीबाट उद्योगको भवन, मेसिन तथा उपकरण र तयारी चिया समेत गरी करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको काफ्लेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।