काठमाडौं– एएफसी एसिया कप २०१९ को छनोट खेल खेल्न नेपाली टिम शुक्रबार साँझ ताजकिस्तान उड्दैछ। दुई वर्षपछि युएईमा हुने एसिया कपमा स्थान बनाउन नेपालका लागि मंगलबार हुने ताजकिस्तानविरुद्ध खेल महत्वपूर्ण छ।
ताजकिस्तानलाई हराउन सके नेपालको एसिया कपमा छनोट हुने सम्भवाना जीवित रहनेछ। बराबरी वा हारले नेपालको गणितीय सम्भावना मात्र बाँकी रहनेछ।
ताजकिस्तानविरुद्ध महत्वपूर्ण खेलका लागि नेपालका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले बुधबार २३ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेका थिए। टिममा २ खेलाडी पुनरागमन गरे। जसमा गोलकिपर विशाल श्रेष्ठको स्थानमा युवा गोलकिपर एलन न्यौपानेले स्थान पाए।
नेपालको यू–२३ टिमबाट खेलिसकेका एलनले राष्ट्रिय टिममा पुनरागमन गर्न पाउँदा प्रोत्साहन महसुस गरेको नेपाल लाइभलाई बताए। 'सिनियर टिममा फेरि स्थान पाउँदा प्रोत्साहन मिलेको छ,' एनलनले भने, 'भविष्यमा राष्ट्रिय टिमका लागि योगदान दिन सक्छु भन्ने विश्वास पनि जागेको छ।' टिममा किरणकुमार लिम्बु र विकेश कुथु सिनियर गोलकिपर भएकाले एलनले अहिले नै स्थान नपाउने बुझेका छन्।

एन्फा एकेडेमीका उत्पादन एलन हाल थ्री स्टार क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका छन्।
यता सुमन लामाको स्थानमा राष्ट्रिय टिममा फर्किएका राजेन्द्र रावलको भने पोजिसन परिवर्तन भएको छ। यसअघि मिडफिल्डमा खेल्ने राजेन्द्रलाई डिफेन्डरको रुपमा टिममा स्थान दिइएको छ। 'डिफेन्डरको रुपमा राष्ट्रिय टिममा पुनरागमन गरेको छु,' राजेन्द्रले नेपाल लाइभसँग भने, 'प्रशिक्षकले दिएको जिम्मेवारी पूरा गर्न तयार छु।' टिमका रहेका डिफेन्डर फिट नभएकाले राजेन्द्रलाई डिफेन्समा राखिएको हो। खेल जीवनको उत्तरार्द्धमा आइसकेका राजेन्द्रले फिटनेसमा ध्यान दिँदै अझै केही वर्ष खेल्ने विश्वास व्यक्त गरे। सशस्त्र प्रहरी बलका राजेन्द्र केही वर्षयता राष्ट्रिय टिममा परे पनि पहिलो रोजाइमा पर्न संघर्षरत छन्।
पहिलो चरणका ३ मध्ये २ खेलमा हार र १ खेलमा बराबरी खेलेको नेपाल समूह 'एफ' को पुछारमा छ। नेपाल फिलिपिन्सविरुद्धको पहिलो अवे खेलमा ४–१ ले पराजित भएको थियो। नेपालले होम खेलमा यमनसँग १–१ को बराबरी खेलेको थियो। एक महिनाअघि एन्फा कम्प्लेक्समा भएको तेस्रो खेलमा नेपाललाई ताजकिस्तानले २–१ ले हराएको थियो।
पहिलो चरणका खेल सकिँदा ३ खेलबाट नेपालको १ अंक छ। शीर्ष स्थानको फिलिपिन्सले ७, दोस्रो स्थानको यमनले ५ तथा तेस्रो स्थानको ताजकिस्तानले ३ अंक जोडेका छन्। समूहका शीर्ष २ टिम युएईमा हुने एएफसी एसिया कप २०१९ मा छनोट हुनेछन्।
नेपाली टिम
गोलकिपर– किरणकुमार लिम्बु, विकेश कुथु, एलन न्यौपाने
डिफेन्डर– कमल श्रेष्ठ, आदित्य चौधरी, अनन्त तामाङ, देवेन्द्र तामाङ, विराज महर्जन, जितेन्द्र कार्की, राजेन्द्र रावल, दिनेश राजवंशी
मिडफिल्डर– सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, अन्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन्त थापामगर, सुजल श्रेष्ठ
फरवार्ड– विमल घर्तीमगर, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।