काठमाडौं- धादिङको मलेखुमा लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्।
बुधबार बेलुका १०:०० बजे गजुरी गाउँपालिका-२ मलेखु बजारबाट गाँजासहित दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी सहायक निरीक्षक (असई) सन्तोष खड्काले जानकारी दिए।
पक्राउ पर्नेमा गजुरी गाउँपालिका-२ मजुवाडाँडा बस्ने २१ वर्षीय सुन्दर तामाङ र सोही ठाउँका १९ वर्षीय किसान परियार रहेका छन्। पैदल गस्ती गर्दै जाने क्रममा पृथ्वी राजमार्गबाट ताल्ती जाने सडकखण्डबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो।
काठमाडौंबाट मुग्लिनतर्फ जाने गाडी कुरेर बसिरहेका उनीहरुले प्रहरी टोलीलाई देखेपश्चात शंकास्पद व्यवहार गरेपछि पक्राउ गरेर खानतलासी गर्दा ८ किलो १३० ग्राम गाँजा फेला परेको असई खड्काले बताए।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान र कारबाहीका लागि लागुऔषधसम्बन्धि कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा लिइएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।