काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले बतास अर्गनाइजेसनमाथि एकतर्फी प्रहार भइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निजी क्षेत्रमाथि एकतर्फी रुपमा चरित्र हत्या र मानमर्दन हुनु चिन्ताको विषय भएको उल्लेख गरेको छ।
‘पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफेटेरिया संचालन सम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’विज्ञप्तिमा भनिएको छ।
बतास अर्गनाइजेसनले सरकारले आह्वान गरेको टेन्डरमा कानुनी रुपमा सहभागि भई आवश्यक भाडा बुझाउने शर्तमा क्याफेटेरिया संचालनको अनुमति पाएको महासंघले भनेको छ।
‘सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैर कानुनी र आपराधिक गतिविधि नभएकोतर्फ महासंघ सबैको ध्यानाकर्षण गराउन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रक्रिया र कानुनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारबाही गर्ने कुरालाई महासंघले कहिल्यै पनि अन्यथा लिँदैन तर त्यसको सत्यतथ्य खोजी हुनु पर्छ भन्ने हाम्रो मान्यता छ।’
सञ्चारमाध्यममा आएका समाचारकै भरमा स्पष्टिकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत नभएको महासंघको भनाइ छ। सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फीरुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउन भइरहेका गतिविधिले मुलुकमा लगानी नहुने र यसले रोजगारीमा समेत गम्भीर असर पर्न जाने महासंघको भनाइ छ।
‘महासंघ मर्यादित र विधिसम्मत व्यवसायको पक्षधर हो। तर विधिसम्मत पेशा व्यवसाय गर्न पाउने आम नागरिकको संवैधानिक अधिकारमाथि प्रहार हुन नदिने बिषयमा पनि महासंघ प्रष्ट छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः व्यवसायीमाथि एकतर्फीरुपमा विना कुनै प्रमाण कहि कतैबाट पनि प्रहार नगर्न नगराउन महासंघ सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहान्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।