अर्जुनप्रसाद पोखरेल, सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले बौद्धिक सम्पत्ति संरक्षणका लागि नयाँ कानुन बनाइरहेको बताएका छन्।
बिहीबार बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको नवौं वार्षिक साधरणसभामा बोल्दै सचिव पोखरेलले उक्त जानकारी दिएका हुन्। उनले सरकारले बौद्धिक सम्पत्ति संरक्षणको लागि नीतिमा समावेश नभएका कुरा कानुनमा समावेश भएर आउने बताए। सचिव पोखरेलले यो विषयमा सरकार गम्भीर भएर लागेको भन्दै कानुन सम्पादन भएर कानुन मन्त्रालयमा पुगेको बताए।
निजी क्षेत्रले अब डेलिभरी र सर्भिसको क्षमता नबढाए कुनै पनि क्षेत्रको विकास र विस्तार नहुने उनले बताए। ‘बौद्धिक सम्पत्ति संरक्षणका लागि सरकारले लगानीकर्ताहरुको भन्दा बढी चिन्ता गरेको छ। सरकारले सरोकारवाला निकायहरुको चिन्ता चासोलाई गम्भीर रुपमा लिएको छ। त्यसैले सरकार नयाँ कानुन निर्माणको प्रक्रियामा रहेको छ। अहिले कानुन निर्माणको चरणमा कानुन मन्त्रालयमा पुगेको छ,' सचिव पोखरेलले भने, 'कानुन मन्त्रालयबाट चाडै संसद्मा पेस गर्ने तयारीमा छौं।'
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकको अर्थतन्त्र स्कुस, गिट्टी र बालुवा बेचेर चलाउँछु भन्नेले बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसक्ने बताए। उनले बौद्धिक सम्पत्तिलाई हेला नभएर संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए। श्रेष्ठले गिट्टी र वालुवा बेचेर मुलुकको अर्थतन्त्र चलाउँछु भन्ने विषय विरोधाभास भएको बताए। उनले सरकारले बौद्धिक सम्पत्तिलाई प्रोसाहन दिएर अझ बलियो बनाएमात्रै अर्थतन्त्र पनि बलियो बन्ने बताए। अब सरकारले उद्योग व्यवसायमा मात्रै नभएर बौद्धिक सम्पत्तिको संरक्षणको अनुसन्धानमा ठूलो लगानी गर्न उनले सुझाव दिए।
अर्थविद् डा. पोषराज पाण्डेले व्यापार तथा वस्तुको सर्भिसमा भित्रिएको नयाँ प्रविधि नेपालको व्यापार नीतिमा आउन नसकेको बताए। उनले पछिल्लो समय विश्वमा व्यापार आधुनिक मोडलमा गएको बताए। अहिले विभिन्न वस्तुको सर्भिसमा आमूल परिर्वतन भएको भन्दै उनले नेपालको व्यापार नीतिमा त्यो प्रविधिलाई नीतिमा समावेश गर्न नसकेको बताए।
डा.पाण्डेले नेपालमा नीति बने पनि कानुन बन्न नसक्दा समस्या आउने गरेको उल्लेख गरे। त्यसको लागि सरकारले समयअनुसारको कानुन निर्माणका लागि पहल गर्नु आवश्यक भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।