काठमाडौं- माओवादी केन्द्र, नेकपा एमाले र नयाँ शक्ति मिलेर बनेको वामपन्थी गठबन्धनले तीन दिनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७५ जिल्लाको उम्मेदवार टुंगो लगाउने भएको छ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्षेत्रगत रुपमा तत्काल उम्मेदवार टुंगो लगाउन कार्यदललाई निर्देशन दिएलगत्तै तयारी थालिएको हो।
कार्यदललाई साझा घोषणापत्र समेत तयार गर्ने जिम्मेवारी दिइएको छ। प्रत्यक्षतर्फ कात्तिक ५ र समानुपातिकतर्फ उम्मेदवारको सूची असोज अन्तिम साता बुझाउनुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ। उक्त कार्यतालिकालाई ध्यानमा राखेर तोकिएकै अवधिमा काम सक्ने तयारीमा कार्यदल लागेको माओवादीका नेता नारायाणकाजी श्रेष्ठले बताए।
‘कसरी घोषणापत्र बनाउने र कुन क्षेत्रमा को उम्मेदवार हुने भनेर तत्काल टुंगो लगाउन शीर्ष नेताहरुको निर्देशन छ,' नेता श्रेष्ठले भने, ‘सोही आधारमा हामी गहन छलफलमा छौं।’
माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रचण्ड र ओलीले तत्काल उम्मेदवार र निर्वाचन क्षेत्र टुंगो लगाउन कार्यदललाई निर्देशन दिएका हो। अहिले जिल्ला जिल्लाबाट प्रदेश र प्रतिनिधिसभाका लागि नाम सिफारिस हुन सुरु भइसकेको छ।
यसअघि चुनावी तालमेल गरेर जाने सहमति गरेको एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि चुनावी घोषणापत्र बनाउन र उम्मेदवार चयन गर्न कार्यदल गठन गरेको थियो।
पार्टी एकता संयोजन समितिको बुधबारको बैठकले उम्मेदवार चयनका लागि पनि तीन वटै पार्टी सम्मिलित ७ सदस्यीय निर्वाचन क्षेत्र उम्मेदवार निर्धारण समिति बनाएको थियो। बैठक एमाले उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा बसेको थियो। कार्यदलमा तीन वटै पार्टीका अध्यक्षसहित एमालेका महासचिव ईश्वर पोखरेल, नेताहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा, नेताहरु वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्ति पार्टीका नेता गंगा श्रेष्ठ रहेका छन्।
चुनाव घोषणापत्र मस्यौदा कार्यदलमा एमालेबाट उपाध्यक्ष वामदेव गौतम, भीम रावल, प्रदीप ज्ञवाली, माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, विश्वभक्त दुलाल ‘आहुति’ तथा नयाँ शक्ति पार्टी नेपालबाट डम्बर खतिवडा र डा. लक्ष्मी देवकोटा छन्।
कार्यदलले ६० प्रतिशत एमाले, ४० प्रतिशत माओवादी केन्द्र हुने गरी प्रत्यक्षतर्फको उम्मेदवार तय गर्ने जिम्मेवारी पाएको छ। स्थानीय निर्वाचनमा प्राप्त मत परिणामलाई आधार मानेर उम्मेदवारको भागबण्डा गरिने भएको हो।
समानुपातिकको अलग्गै सूची
प्रत्यक्षतर्फ मात्र साझा उम्मेदवार तय गर्ने निर्णय गरेको वाम गठबन्धनले समानुपातिकमा भने आ–आफ्नै दलको तर्फबाट सूची बुझाउने भएको छ।
आगामी असोज २९ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारी निर्वाचन आयोगमा बुझाउनुपर्ने समयसीमा छ।
समानुपातिकतर्फ प्राप्त भएको मतका आधारमा सिट पाउने भएकाले त्यसमा पुन: छलफल हुने एमाले नेता वामदेव गौतमले बताए। सूर्य र गोलाकार हँसिया हथौडामा प्राप्त मतका आधारमा निर्वाचन आयोगले संख्या निर्धारण गरेपछि व्यक्तिको बारेमा फेरि गठबन्धनको छलफलबाट सिफारिस हुने उनले बताए।
तीन पार्टीले गत मंगलबार पत्रकार सम्मेलन गरी आगामी प्रदेश-प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने र त्यसपछि पार्टी एकता गर्ने सहमति गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।