काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क ‘स्टिकर’को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन्। काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको बिहीबार निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिएका हुन्। उनले एक वर्षको अवधिमा मन्त्रालयलाई आवश्यकपर्ने परिमाणको स्टिकर छाप्न सक्नेगरी व्यवस्था गर्न निर्देशन दिएका थिए।
जडान हुँदै गरेका अत्याधुनिक मेसिनले नोटबाहेक अन्य सबै किसिमका मुद्रण गर्ने जानकारी आफूलाई दिइएको बताउँदै उनले यसको ठूलो बजारसमेत रहेको उल्लेख गरे। बैंक, यातायात, मालपोतलगायतका विभिन्न क्षेत्रको काम यसले पाउनसक्ने उनले बताए। आफूले सुरक्षण प्रिन्टिङ प्रेसमा नाफा मात्रै देखेको स्पष्ट पार्दै मन्त्री शर्माले यसका लागि सरकार लगानी गर्न नहिच्किचाउने जानकारी दिए।
चोरी नहुने तथा नक्कली स्टिकर बनाउन नमिल्ने स्तरको सुरक्षित स्टिकर छाप्नुपर्ने आवश्यकता औँल्याउँदै उनले अब सुरक्षण मुद्रण केन्द्रले सो परिपूर्ति गर्नेमा विश्वास व्यक्त गरे।यसबाट अर्बौंको राजस्व चुहावटलाई नियन्त्रण गर्न सकिने विश्वास उनले व्यक्त गरे।
हाल स्टिकर छाप्ने काम जनकशिक्षा सामग्री केन्द्रले गर्दै आएको छ। आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार दुई वर्षदेखि जनक शिक्षाले करिब २२ करोडमा स्टिकर छाप्दै आएको छ। यसअघि ‘ग्लोबल टेन्डर’मार्फत स्टिकर छापिँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।