काठमाडौं– लगातारजसो घट्दो क्रममा रहेको विप्रेषण (रेमिट्यान्स)को आप्रवाह चालु आर्थिक वर्ष (२०७८/०७९)को ५ महिनामा ओरालो लागेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षका ५ महिनाको विवरणमा रेमिट्यान्स आप्रवाह ६.८ प्रतिशतले घटेको उल्लेख छ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्म ३ खर्ब ८८ अर्ब ५८ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आइ ३ अर्ब २६ करोड पुगेको छ।
अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो। सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भई एक लाख ३१ हजार ८२ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९२.७ प्रतिशतले घटेको थियो।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भइ ९९ हजार ५८० पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७७.३ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आइ रु ४३३ अर्ब ९२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।