काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन्।
नेपाली पूँजीबजार क्षेत्रको नियमनकारी निकायको प्रमुख पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएअनुसार १५ जनाले आवेदन दिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
सेबोनको अध्यक्षका लागि आवेदन दिनेमा डा गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरन्जिवी चापागाई, डा नवराज अधिकारी, अम्बिका शर्मा लामिछानेले आवेदन दिएका छन्।
यस्तै, कृष्णराज पोखरेल, डा जीवन अंगाई, रमेश कुमार हमाल, सिताराम थपलिया, डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरि र हेमन्त बस्यालले अध्यक्षका लागि आवेदन दिएका छन्।
बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि सरकारले उनलाई पदबाट बर्खास्त गरेको थियो।
त्यसपछि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा बोर्ड अध्यक्ष छनोट समिति गठन गरिएको थियो। पौडेल संयोजकत्वको समितिले दरखास्त आह्वान गरेअनुसार ११ जनाले आवेदन दिएका थिए।
त्यतिबेलाको छनोट समिति नै विवादित भएपछि पुन: आवेदन माग गरिएको थियो।
पुन: आवेदन माग गरिँदा थप ४ जनाले आवेदन दिएका हुन्। खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी र कृष्णराज पोखरेल नयाँ आवेदक हुन्।
अध्यक्षका लागि आवेदन दिएकाहरुलाई अन्तर्वार्तामा बोलाइनेछ। अन्तर्वार्छापछि 'सर्ट लिस्ट' तयार गरी बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषद्लाई सिफारिस गरिने छ।
समितिको सिफारिसानुसार मन्त्रिपरिषद्ले बोर्डको अध्यक्ष नियुक्त गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।