काठमाडौं– घुससहित पक्राउ परेका एक उपसचिवलाई विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उपसचिव लिला अधिकारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।
बूढानीलकण्ठ नगरपालिका कार्यालय, काठमाडौंका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत रहेका अधिकारी ५ लाख घुससहित पक्राउ परेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २०७४ चैत २७ गते पक्राउ गरेको थियो। उनीसँगै नगरपालिका इन्जिनियर बिजेन्द्र श्रेष्ठ पनि ‘स्टिङ अप्रेसन’मा पक्राउ परेका थिए। विशेषले दुवैलाई दोषी ठहर गरेको हो।
अख्तियारले उनीहरुविरुद्ध २०७५ वैशाख २३ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीहरुले बूढानीलकण्ठ नगरपालिका–२ बाँडेपाखामा रिजर्भ वायर पानी ट्याङकी निर्माण कार्य सम्पन्न गरेपश्चात कार्य अनुभवपत्र लिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए। त्यसपछि आयोगको कार्यालय टंगालले टोली खटाई रंगेहात पक्राउ गरेको थियो।
घुस बापतको रकम लिएको अवस्थामा काठमाडौं महानगरपालिका–३ को कार्यालय अगाडि सार्वजनिक सडकबाट अधिकारी बा १८ च ७०८७ नम्बरको कारसहित पक्राउ परेका थिए।
त्यसैगरी, ईन्जिनियर बिजेन्द्र श्रेष्ठको बा ७ च ५८९४ नम्बरको कार पनि नियन्त्रणमा लिइएको छ। उनीहरुमाथि थप अनुसन्धान गर्दै आयोगले मुद्दा चलाएको थियो। सर्वोच्च अदालतले केही समय पहिले अख्तियारको स्टिङ अप्रेसनलाई गैरकानुनी ठहर गर्ने फैसला गरेको थियो।
सर्वोच्चको उक्त फैसलाले अख्तियारको स्टिङ अप्रेसनपछि दायर भएका मुद्दामा अन्योलता देखिएको थियो। तर, विशेष र सर्वोच्चले स्टिङ अप्रेसनपछि मुद्दा दायर भएका केही मुद्दामा अन्य प्रमाणले सहयोग गरेमा दोषी ठहर गर्दै आएको छ। स्टिङ अप्रेसनमा पक्राउ परेर दोषी ठहर हुने अधिकारी उच्च अधिकृत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।