काठमाडौं– रुपन्देहीको बेलहिया नाकाबाट हुने आयात करिब ६० प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकले ल्याएको नयाँ प्रावधानका कारण आयात घटेको सरोकारवालाले बताएका छन्। राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) खोल्दा आयातकर्ताले विलासिताका वस्तुमा शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गर्दै पुस ५ गते निर्देशन जारी गरेको थियो।
आयात उच्च भएका कारण तरलता अभाव हुँदै शोधनान्तर घाटा बढेको र विदेशी विनियम सञ्चितिसम्म घटेका कारण अहिले केही वस्तुको आयात निरुत्साहित गर्ने नीति लिएको राष्ट्र बैंकले जनाएको थियो।
राष्ट्र बैंकले विलासिताका वस्तु आयातमा अनिवार्य एलसी खोलेर शतप्रतिशत र केहीमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्दै परिपत्र गरेको थियो। यही कारण विलासिताका वस्तुको आयातमा गिरावट आएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत तीर्थराज पासवानले जानकारी दिए।
भैरहवा भन्सार कार्यालयले पुस महिनाका लागि दैनिक ३० करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएकोमा अहिले दैनिक छ करोड रुपैयाँको हाराहारीमा मात्र राजस्व संकलन गरिरहेको छ।
बेलहिया नाकाबाट मुख्यतया मसला, चकलेट, पेयपदार्थ, सुर्तीजन्य वस्तु, कस्मेटिक सामान, काठ र फर्निचर, जुत्ता चप्पल, टोपी, हेलमेट, टायल, मार्बल, ग्रेनाइट, सिसाका सामान, आर्टिफिसियल ज्वेलरी, तासलगायत वस्तुमा शतप्रतिशत र हलुका सवारीसाधन कार, जिप, भ्यान, मोटरसाइकल, स्कुटर आयातका लागि एलसी खोल्दा नै ५० प्रतिशत बैंकमा भुक्तानी गर्नुपर्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।