काठमाडौं- मेडिकल अध्ययनका लागि बंगलादेश जाने क्रममा एक नेपाली विद्यार्थीको नगदसहित महत्वपूर्ण सामान चोरी भएको छ।
मंगलवार दिउँसो १:४५ बजेको हिमालयन एयरलाइन्सको फ्लाइट नम्बर एच ९६७८ मार्फत् ढाका जाने क्रममा नेपाली विद्यार्थी नित्या कार्कीको नगदसहित सामान चोरी भएको हो। उनीसँगै यात्रा गरेका उनका अरु साथीहरुको पनि लगेजको ताल्चा भाँचिएको पाइएको छ।
ढाका पुगेर डलर साट्ने क्रमममा लगेज च्यातिएको उनीहरुले थाहा पाएका थिए। उनीहरुले तत्काल स्थानीय प्रहरीलाई खबर गरेपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै चोरी भएको हुनसक्ने जवाफ दिएको नेप्लिज मेडिकल स्टुडेन्ट्स बंगलादेशका अध्यक्ष नवीन यादवले बताए।
त्यसपछि उनीहरुले आफन्तमार्फत् हिमालयन एयरलाइन्सको सिसिटिभी फुटेज हेर्न खोज्दा दिन नमानेको उनको दाबी छ। ‘भिडियो डाउनलोड भएको छैन। अर्को दिन आउनुस् भनेर फिर्ता पठाइयो,’ उनले भने,‘यस्तो लापरबाही कुनै जघन्य अपराधभन्दा कम छैन।’
यथाशिघ्र आवश्यक छानबिन गरेर पीडित विद्यार्थीको रकम र सामान हस्तान्तरण गर्न उनले माग गरेका छन्। उनले छानबिनमा सहयोग नगरे बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुले हिमालयन एयरलाइन्सलाई बहिस्कार गर्नेसमेत चेतावनी दिए।
साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राविधिकरण र सम्बन्धित निकायलाई घटनाबारे ध्यानाकर्षण गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।