काठमाडौं– ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेला लाग्न दुई दिन बाँकी छ। मकर संक्रान्तिदेखि माघ महिनाभर चल्ने उक्त मेलामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाभन्दा कमको उपस्थितिमा मात्र स्नान गर्न पाइने भएको छ।
काभ्रेपलाञ्चोकको कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)को बैठकले कोरोना संक्रमणको उच्च जोखिम रहेकाले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम तथा महोत्सव नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ।
साथै पनौती नगरपालिका–७ त्रिवेणीघाट क्षेत्रमा सञ्चालन हुने १२ वर्षे बृहत् मकर मेलामा २५ जनाभन्दा कम र भीडभाड नहुने गरी स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाई भक्तजनलाई स्नानमात्रै गर्ने व्यवस्था मिलाउन सुरक्षा निकाय, पनौती नगर कार्यालय तथा मेला व्यवस्थापन पक्षलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए।
नगरपालिका कर्यालयले सूचना जारी गर्दै स्वास्थ्यका मापदण्ड अपनाएर मेला तथा अन्य विविध कार्यक्रम स्थगन गरिएको जनाएको छ। ‘मेलामा भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड अपनाएर मात्रै २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा स्नानमात्रै गर्न पाइने सूचित गरेका छौं,’ नगरप्रमुख भीम न्यौपानेले बताए।
मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो। पनौती संघीय काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटर तथा बनेपाबाट ६ किलोमिटर दक्षिणमा पर्छ। मेलाका लागि नगरले गत वर्ष रु पाँच करोड र यस वर्ष रु तीन करोड बजेट छुट्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।