फाइल तस्बिर
इस्लामाबाद- पाकिस्तानमा कोभिड-१९ सङ्क्रमण दर उच्च देखिए पनि तत्काल विद्यालयहरू बन्द गर्ने सोचमा सरकार देखिएको छैन।
तत्काल विद्यालयहरू बन्द नगर्ने सरकारी योजनाबारे मंगलबार सञ्चारमाध्यमले सूचना तथा प्रसारण मन्त्रालय स्रोतलाई उद्धृत गरी समाचारमा उल्लेख गरेका छन्।
'संघीय सरकारलाई देशमा बढ्दो कोभिड-१९ सङ्क्रमणका घटनाको बारेमा जानकारी छ तर तत्काल पाकिस्तानमा पुनः लकडाउन वा विद्यालय बन्द गर्ने योजना बनाएको छैन,' मन्त्रिपरिषद् बैठकपश्चात पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सूचना तथा प्रसारणमन्त्री फवाड चौधरीले भने।
मुलुकमा कोभिड-१९ सङ्क्रमण दर दोब्बर भएको जानकारी संघीय मन्त्रालयलाई जानकारी रहेको तर विद्यालय बन्दको सम्भावना तत्कालका लागि नरहेको पाकिस्तानी टेलिभिजन जियो न्यूजसँग बोल्दै मन्त्री चौधरीले बताए।
उनले भने, 'उच्च सङ्क्रमण दरका बावजुद पनि हामीले पाकिस्तानमा लकडाउन वा विद्यालय बन्द गर्ने सोच बनाएका छैनौं। अर्को लकडाउनको बोझ हाम्रो अर्थतन्त्रले बोक्न सक्दैन।'
देशले कोरोना भाइरसको सामना गर्न सक्ने कुरामा जोड दिँदै चौधरीले सरकारले तालाबन्दी नलगाउने तर परिस्थितिको अनुगमन जारी राख्ने बताए। कोरोना भाइरस फैलिन नदिन देशका जनतालाई मास्क प्रयोग गर्न पनि मन्त्रीले आग्रह गरे।
चौधरीले पाकिस्तानले ‘उत्कृष्ट’ कोभिड-१९ खोप अभियान चलाइरहेको पनि बताए। संघीय सरकारले खोपमा दुई अर्ब अमेरिकी डलर लगानी गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।