काठमाडौं- नेकपा एमालेको बाजुरा जिल्ला अधिवेशनमा केन्द्रीय नेताहरुको सहमतिमा अध्यक्षमा कालीबहादुर शाहीको नाम घोषणा गरिएको छ। चार दिनसम्म अध्यक्षका आकांक्षीबीच सहमति नभएपछि शाहीसहित पदाधिकारी र सदस्यको बन्द सत्रमा नाम घोषणा गरिएको हो।
अध्यक्षका अर्का प्रत्यासी लालबहादुर ओलीले भने आफ्नो उम्मेदवारी कायम रहेको बताएका छन्। अध्यक्ष मण्डलले एकलौटी घोषणा गरेको बताउँदै दाबी जारी रहेको बताएका छन्।
केन्द्रीय नेताहरुले सहमति जुटाएका अन्य पदाधिकारीमा उपाध्यक्ष भरत बुढा, सचिव भरत थापा, उपसचिव जनक बोहरा र हरि रोकाया रहेका छन्।
एमालेको चितवनमा भएको १०औं महाधिवेशनमा जस्तै नाम घोषणापछि निर्वाचन प्रक्रिया सुरु भएको छ। उक्त नाममा सहमति नभएकाहरु निर्वाचन प्रक्रियामा जान सक्ने बताइएको छ।
केन्द्रीय नेताहरुले भने भागबन्डा गरेर पदाधिकारी टुंग्याएका छन्। अध्यक्ष शाही केन्द्रीय लालबहादुर थापानिकट हुन्। उपाध्यक्ष बुढा केन्द्रीय सदस्य सहदेव बोगटीनिकट र सचिव भरत थापा स्थायी कमिटी सदस्य कर्ण थापानिकट हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।