काठमाडौं– कोरोना भाइरसको तेस्रो लहर फैलिहेका कारण यस वर्ष दाङका विभिन्न स्थलमा लाग्ने माघी मेला नहुने भएको छ। माघे संक्रान्तिका अवसरमा जिल्लाका दुई स्थानमा ठूलो मेला लाग्ने गर्दथ्यो। घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने ताल ९दह० र लमही नगरपालिका–९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेला लाग्ने गर्दथ्यो। यो वर्ष यी दुवै स्थानमा मेला नलाग्ने भएको हो।
बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले नेपाल सरकारको निर्देशनअनुसार मेला स्थगित गरिए पनि भौतिक दूरी र सुरक्षाको मापदण्ड पालना गरी पूजा गर्न पाइने बताए।
मन्दिरमा पूजाका लागि प्यूठान, रोल्पा, रुकुमबाट दैनिक करिब दुईदेखि तीन सय भक्तजन आउने गरेको उनले बताए। यो मन्दिरमा भेडाको बली दिइने र परेवा उडाउने गरिन्छ। अवलोकन गर्न आउने पर्यटकलाई मन्दिर परिसर सधैं खुल्ला हुने अध्यक्ष बुढाले जानकारी दिए।
यसपालि कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनका बिरामीको सङ्ख्या बढ्दै गएपछि लमही नगरपालिकाले कुनै किसिमका मेला तथा महोत्सव नगर्नका लागि सूचना जारी गरेका कारण रिहारमा लाग्ने मेला स्थगित भएको हो। थारू समुदायको माघीसँगै लाग्ने यो मेलामा विशेषगरी मामा भान्जी मन्दिर, तप्त कुण्ड ९तातोपानी पोखरी०, घिउ पोखिएको स्थानलाई पवित्र स्थान मानी पूजा गर्ने चलन भएको पुजारी हिरालाल बाबाले जानकारी दिए। रिहार धाम यादव र थारू जाति दुवैको धरोहर हो। लमही बजारबाट पच्चीस किलोमिटरको दूरीमा पर्ने रिहार मेलामा साना र ठूला गरी एक दर्जन मन्दिर छन्।
दाङका धार्मिकस्थलहरुमा अघिल्ला वर्षहरुमा माघीमा मेला एक महिनाअघि देखि नै लाग्दै आएकामा यस वर्ष नलाग्ने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए। कोरोना भाइरस संक्रमणको जोखिम जिल्लामा दिन प्रतिदिन बढ्दै गएको छ।
जिल्लाका स्थानीय तहहरुले पनि कुनै पनि भेला, महोत्सव र मेला नगर्न र कोरोनाविरुद्धमा सतर्कता अपनाउन सूचना प्रकाशन गरेर आग्रह गरेका छन्। जिल्ला थारू कल्याणकारिणी सभाले पनि माघी महोत्सव स्थगन गरेको छ। महोत्सव मूल आयोजक समिति संयोजक भुवन चौधरीले कोरोनाको जोखिम बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।