काठमाडौं- साताको पहिलो दिन आइतबार उच्च अंकले उकालो लागेको सेयर बजार साताको दोस्रो कारोबार दिन सोमबार पनि उकालो लागेको छ।
सोमबार सेयर बजार मापन परिसूचक नेप्से १९.४३ अंकले बढेर २७८४.९५ विन्दुमा आइपुगेको छ। आइतबार नेप्से ७३.०१ अंकले बढेर २७६५.७४ विन्दुमा पुगेको थियो।
आज समग्रमा नेप्से ०.७० प्रतिशतले बढेको छ। यसैगरी, आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.१६ अंकले बढेर ५२२.५३ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कारोबार रकममा आइतबारको तुलनामा दुई लाख रपैयाँभन्दा धेरैले बढेर सात अर्ब १२ करोड ३४ लाख २४ हजार रुपैयाँ पुगेको छ। आइतबार कूल सात अर्ब १० करोड १८ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार थियो।
आज कारोबारमा आएका कूल २३६ वटा कम्पनीका एक करोड एक करोड ८२ लाख ८८ हजार १३० कित्ता सेयर किनबेच भएका छन्। आज कारोबारमा आएका १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्य ओरालो लागेको छ भने बाँकी समूहको सेयर मूल्य उकालो लागेको छ।
आज कारोबारमा आएको तीन कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ।
आज मध्य भोटेकोशीको सेयर मूल्य १० प्रतिशत, युनियन जलविद्युत कम्पनीको ९.९९ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको हो। आज २२ करोड ७७ लाख रुपैयाँभन्दा बढीसहित खरिद-बिक्री रकममा गोर्खा फाइनान्स अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र एचआईडीसीएल परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।