काठमाडौं- चालु आर्थिक वर्ष लागेसँगै घट्न थालेको बैंकहरुको निक्षेप संकलन पुसबाट बढ्न थालेको छ। नेपाल बैंकर्स संघको तथ्यांक अनुसार गत साता वाणिज्य बैंकहरुको निक्षेप संकलन ५९ अर्ब रुपैयाँले बढेको छ। यसैगरी बैंकहरुको कर्जा लगानी नौं अर्ब रुपैयाँले बढेको छ।
संघको तथ्यांक अनुसार पुस २३ गतेसम्म २७ वाणिज्य बैंकले ४३ खर्ब सात अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। अघिल्लो साता पुस १६ गतेसम्ममा बैंकहरुको निक्षेप संकलन ४२ खर्ब ४९ अर्ब रुपैयाँ थियो। यसैगरी बैंकहरुको निक्षेप संकलन पुस ९ गतेसम्म्मा ४२ खर्ब ३६ अर्ब थियो।
गत साता बैंकहरुको स्वदेशी मुद्रा (लोकल करेन्सी) तर्फको निक्षेप ६१ अर्ब रुपैयाँले बढेको छ। तर, विदेशी मुद्रा (फरेन करेन्सी) को निक्षेप भने तीन अर्ब रुपैयाँले घटेको संघको तथ्यांकले देखाएको छ।
यसैगरी, पुस २३ गतेसम्ममा बैंकहरुले ४१ खर्ब आठ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जसमा ३९ खर्ब ९४ अर्ब स्वदेशी मुद्रामा कर्जा दिएका छन् भने १ खर्ब १४ अर्ब विदेशी मुद्रामा कर्जा दिएका छन्। बैंकर संघको तथ्यांक हेर्दा पछिल्लो केही समय यता बैंकहरुको कर्जा लगानी केही घटेको छ भने निक्षेप संकलन बढ्न थालेको छ।
चालु आर्थिक वर्षबाट नै घट्न थालेको निक्षेप संकलन अहिले केहि बढ्न थालेको छ। यसले बैंकिङ क्षेत्रमा देखिएको लगानी योग्य रकम (तरलता) अभाव केहिहदसम्म सुधार हुने जानकारहरु बताउँछन्। तरलता अभावको समस्या अझै पनि छ। यसलाई न्यूनीकरण गर्न सरकार तथा नेपाल राष्ट्र बैंक अग्रसर रुपमा लागिपरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।