काठमाडौं– हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त प्रणालीका कारण हाल देशका अधिकांश भ–भागमा, आंशिक देखि सामान्य बदली रहेको छ। हाल प्रदेश १ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको महाशाखाले जनाएको छ। पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको महाशाखाको भनाइ छ।
महाशाखाका अनुसार आज (आइतबार) दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन /चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन ÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन ÷चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
देशका केही भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।