काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई तत्काल नहटाउने भएका छन्।
माओवादी केन्द्रले विपक्षी नेकपा एमालेसँग वामपन्थी गठबन्धन गरेसँगै माओवादीबाट मन्त्री बनेकाहरु सरकारबाट फिर्ता हुन सक्ने आशंका गरिरहँदा तत्काल त्यसको सम्भावना नरहेको बताइएको छ। सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन घोषणा गरी आचारसंहिता समेत लागू गरिसकेको अवस्थामा मन्त्री हटाउने प्रक्रियामा नलाग्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए।
हाल सरकारमा माओवादी केन्द्रबाट उपप्रधानसहित ६ मन्त्री र ४ राज्यमन्त्री छन् । माओवादीका सांसदहरुले गृह, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, ऊर्जा र महिला बालबालिका मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्।
मन्त्रिपरिषद् फेरबदलभन्दा निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गर्नु पहिलो एजेन्डा भएकाले सरकार तत्काल फेरबदल नहुने परियारको दाबी छ।
तर, कमल थापाको राप्रपा, उपेन्द्र यादवको संघीय समाजवादी फोरम र राजपा लोकतान्त्रिक गठबन्धनमा जोडिन आएसँगै सरकारका मन्त्रीहरु परिर्वतन हुने आशंका गरिएको छ । माओवादीले समेत विपक्षी एमालेसँग गठबन्धन गरेको अवस्थामा आफ्ना मन्त्रीहरुलाई फिर्ता नबोलाएकाले प्रधानमन्त्रीले नहटाउने तयारी गरेको परियारले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।