काठमाडौं– दिन ढल्किँदै छ। उनको उमेर जस्तै बूढो भइसकेको घामले धरहराबाट हाम्फालेको अलि अघि नै हो।
माइतीघरको सडक उसैगरी व्यस्त छ। हतार छ गन्तव्यमा फर्किने सवारीहरुलाई। हतार त उनलाई पनि छ। तर, उनको हतारो कसले सुन्ने? कसले बुझ्ने?
जसले पाँच वर्षदेखि पर्खिरहेछन्, न्याय। धाइरहेका छन् न्यायालयको ढोकामा। चिहाइरहेका छन् न्याय पाउने आशाको आँखीझ्यालबाट।
तर, जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतसम्म आइपुगेका चितवन, भरतपुर महानगरपालिका–११ का अम्बिकाप्रसाद अधिकारीको मुद्दाको टुंगो भने अझै लागेको छैन।
सोच्छन्– काठमाडौंको जीवनजस्तै छिटो छिटो काम भइदिने भए..।
माइतीघरमा अनसन किन? अम्बिकाप्रसाद भन्छन्– अंश नपाएर।
अंशका लागि अनसन?
सुन्दा अनौठो लाग्ला। तर, अधिकारी १८ पुसदेखि अंश नपाएको भन्दै माइतीघरमा अनसन बसिरहेका छन्।
उमेरले ६ दशक पुग्दै गरेका उनले अड्डा अदालत धाउन थालेको पनि ५ वर्ष पुगिसक्यो। तर, न्याय पाएका छैनन्। न्यायको आशा मरिसकेको छैन।
उनले पहिलोपटक २०७३ सालमा चितवन जिल्ला अदालतमा नै दाजुहरुविरुद्ध अंश मुद्दा हाले। तर, हारे। चितवन जिल्ला अदालतले आवश्यक कागजपत्र नपुगेको भन्दै उनको विपक्षमा फैसला गर्यो। उनी त्यहाँ रोकिएनन्। त्यसमा चित्त बुझाएनन्।
त्यसपछि आफूले अंश पाउनुपर्ने दाबीसहित उच्च अदालतमा पुनरावेदन गए। त्यहाँ पनि मुद्दा हारे। त्यसपछि उनी न्यायको अन्तिम लडाइँका लागि २ वर्षअघि सर्वोच्च अदालत आइपुगे। उनको मुद्दा २ वर्षदेखि सर्वोच्चमा विचाराधीन छ।
तर, उनी अहिले सर्वोच्चभन्दा करिब ३०० मिटरको दूरीमा रहेको माइतीघर मण्डलमा अनसन बसिरहेका छन्।
उनको माग छ– मुद्दाको चाँडो फैसला होस्।
‘१५/२० चोटी पेसी तोकियो। तर, सुनुवाइ हुन बाँकी छ’, उनले सुनाए।
जग्गा लिलामीदेखि अनसनसम्म
उनी अंशका लागि अनसनमा बस्नुका पछाडिको कथा भने लामो छ। अम्बिकाप्रसादका बुवा छविरमणले ४ वटा बिहे गरे।चार आमाका पाँच छोरा छन्। जेठी श्रीमतीतर्फका एक, माइलीतर्फका दुई र साइलीतर्फका एक छोरा छन्। अम्बिकाप्रसाद कान्छी श्रीमतीतर्फका हुन्।
अम्बिकाप्रसादका अनुसार छविरमणले छोराहरुले झगडा नगरुन् भनेर दाइजोमा आएको सम्पत्ती बराबर बाँडे। तर, पैतृक सम्पत्ति नबाँड्दै उनको मृत्यु भयो। बुवाको मृत्यु भएको पनि ११ वर्ष भइसकेको छ। बुवाको मृत्युपछि पैतृक सम्पत्ति नपाएको भन्दै अम्बिकाप्रसाद न्यायका लागि अदालत पुगेको बताउँछन्।
उनका बुवाले साबुन उद्योग खोल्ने भनेर हालको नवलपुर जिल्लाको कौरेनीतिरको ४३ कठ्ठा, भरतपुरतर्फको ३ कठ्ठा र १७ धुर जग्गा धितो राखेर ऋण निकाले। तर, त्यो उद्योग धरासयी बन्यो। सबै लगानी डुब्यो। छविरमणले ऋण तिर्न सकेनन्। जग्गा रोक्का भयो। जसले गर्दा बिक्री गर्न पनि मिलेन।
भरतपुरमा रहेको दुई कठ्ठा जग्गा बेचेर २०५४ सालमा छबिरमणले रोक्का जग्गा फुकुवा गरे। पछि बुवाको शेषपछि अरु आमापट्टिका दाजुहरुले अंश पाएको तर, आफूले नपाएको अम्बिकाप्रसादको दाबी छ।
माइली आमापट्टि दाजु दिनेश प्रसाद अधिकारी र भाउजु (चन्द्र प्रसाद अधिकारीकी श्रीमती) मिनाले जालसाजी गरेको अम्बिकाप्रसादको दाबी छ।
भन्छन्– सन्तानले दुःख नपाऊन् भनेर यसो गरेको हुँ
उमेर ढल्किँदै गरेका अम्बिकाप्रसाद न्यायका लागि अनसन बस्नुपरेको वा मुद्दा, मामिला गरेको आफ्ना लागि होइन। सन्तानले दुःख नपाऊन् भनेर यसमा लागेको उनी बताउँछन्। उनी आफैं पनि कानुनका विद्यार्थी हुन्। कानुनमा बीएल गरेको बताउने अम्बिकाप्रसादका दुई छोरा र एक छोरी छन्।
अहिले भाडाको घरमा बस्छन्। सामान्य कृषि काम गर्छन्। आफूले न्याय नपाए पनि भोलिका दिनमा छोराछोरी सुखले बसुन् भन्ने मनसाय भएको उनी बताउँछन्।
मुद्दा लड्दालड्दै श्रीमतीकोे मंगलसुत्र बेच्नु परेको अम्बिकाप्रसादले सुनाए। बारम्बार मुद्दा पेसी चढ्ने तर, सुनुवाइ नहुने भएपछि अनसन बस्न बाध्य भएको उनी सुनाउँछन्। आफ्नो अनसन अनिश्चितकालका लागि रहेको उनले बताए।
उनी बिहानै माइतीघरमा अनसन बस्न पुग्छन्। बेलुका भने पहिलो दिन प्रहरी वृत्त सिंहदरबारले रानीवनको मानव सेवा आश्रम केन्द्रमा राख्यो। तर, अहिले उनलाई भद्रकालीमा राख्ने गरिएको छ।
ढिलै भएपनि न्याय पाइएला भन्ने आश छ उनलाई। जिल्ला र पुनरावेदनमा उनले आफैं बहस गरेका थिए। सर्वोच्चमा भने शम्भु थापा र मञ्जुल गौतमले उनको मुद्दामा बहस गर्ने भएका छन्।
‘यो देशको कानुनी प्रक्रियामै ढिलासुस्ती छ। न्यायका लागि लड्दा लड्दै मरेँ भने पनि छोराहरुले न्याय पाऊन् भन्ने चाहना छ’, उनले कुराकानीको बिट मार्दै भने, ‘अन्तिम विकल्प नै आमरण अनसन देखेर अनसन सुरु गरेको हुँ। मसँग यो भन्दा अर्को कुनै उपाय छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।