ब्युनस आयर्स– सन् २०३० को फिफा विश्वकप फुटबल संयुक्त रुपमा आयोजना गर्न दक्षिण अमेरिकाका तीन राष्ट्रले दाबी गर्ने भएका छन्।
अर्जेन्टिना, उरुग्वे र पाराग्वेका फुटबल संघका अध्यक्षहरुले बुधबार अर्जेन्टिनाको ब्युनस आयर्समा पत्रकार सम्मेलन गरी आयोजनाको दाबी गर्ने बताएका हुन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले २०३० को विश्वकप आयोजनाको टुंगो २ वर्षपछि लगाउनेछ । सो संस्करणको आयोजनाका लागि ब्रिटेनले पनि दाबी गर्नेछ।
विश्वकप फुटबल दक्षिण अमेरिकाबाट सुरु भएको तथा आयोजनाको सय वर्ष पूरा भएको अवसरमा दक्षिण अमेरिकामै विश्वकप आयोजना गर्नुपर्ने तर्क ती राष्ट्रहरुले गरेका छन् । विश्वकप फुटबलको पहिलो संस्करण सन् २०३० मा उरुग्वेमा भएको थियो।
पाराग्वे फुटबल संघका अध्यक्ष होकासिओ कार्टेसका अनुसार आयोजना दाबीको पहिलो बैठक नोभेम्बरको पहिलो साता बस्नेछ । कार्टेसले भने, 'अरु देशले पनि आयोजनाको दाबी गरिरहेका छन् । तर हामीसँग आयोजना गर्नुपर्ने पर्याप्त आधार छन् । हामी विश्वकप सुरु भएको सयौं वर्षगाँठ दक्षिण अमेरिकामै मनाउन चाहन्छौं।'
त्यसअघि हुने सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिताको आयोजनाको पनि टुंगो लागेको छैन । २०२६ को विश्वकप आयोजनाका लागि अमेरिका, मेक्सिको तथा क्यानडाले संयुक्त रुपमा दाबी गरिरहेका छन् । यस्तै, अफ्रिकी राष्ट्र मोरक्कोले पनि यसका लागि दाबी प्रस्तुत गरेको छ।
सन् २०२६ को विश्वकपदेखि फिफाले सहभागी मुलुकको संख्या ३२ बाट बढाएर ४८ पुर्याउने निर्णय गरेको छ। त्यसअघि सन् २०१८ मा रसिया तथा सन् २०२२ मा कतारमा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।