काठमाडौं- राष्ट्रिय जनमोर्चा(राजमो) ले भारत उत्तराखण्ड राज्यका राज्यपाल (गभर्नर) दार्चुला जिल्लास्थित कालापानी क्षेत्रमा पर्ने नाभी, कुटी, गुञ्जीको भ्रमण गरेको समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार एक विज्ञप्ति जारी गरि उत्तराखण्ड राज्यका गभर्नरको उक्त क्षेत्रमा अनुमति विना भ्रमणले नेपालको सार्वभौमिकता तथा अखण्डतालाई भारतले ठाडै चुनौति दिएको उल्लेख गर्दै घटनाबारे सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन्।
'भारतको उत्तराखण्ड राज्यका राज्यपाल (गभर्नर) नेपालको दार्चुला जिल्लास्थित कालापानी क्षेत्रमा पर्ने नाभी, कुटी, गुञ्जीको भ्रमण गरेको समाचारप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले गम्भीर आपत्ति प्रकट गर्दछ' विज्ञप्तिमा भनिएको छ, 'उत्तराखण्ड राज्यका गभर्नरले उक्त क्षेत्रमा गई विगतमा भारतले नेपाली भूमि अतिक्रमण गरी निर्माण गरेको सडकको पनि निरीक्षण गरेको कुरा समाचार माध्यममा आएको छ। त्यसको घोर विरोध तथा भत्र्सना गर्दछौं।'
कालापानी क्षेत्रका उक्त गाउँहरु नेपालको सार्वभौमिकताभित्र पर्ने भन्दै विज्ञप्तिमा भनिएको छ, 'नेपालको अनुमति विना त्यसप्रकारको भ्रमणले नेपालको सार्वभौमिकता तथा अखण्डतालाई भारतले ठाडै चुनौति दिएको छ। त्यसबारे नेपाल सरकार अहिलेसम्म मौन रहेकोमा उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन र त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्न माग गर्दछौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।