काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गराउन सम्पूर्ण तयारी पूरा गरेको छ।
आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिए। उक्त निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने छन्। आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ।
आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदै छ। सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ। उक्त निर्वाचनमा नौ राजनीतिक दलले सबै प्रदेशमा र तीन दलले प्रदेश विशेषमा मात्र भाग लिने छन्।
आयोगका अनुसार, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिने छन्। लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ र सुदूरपश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले बागमती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ मा मात्र भाग लिने जानकारी दिएका छन्।
निर्वाचनका लागि यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकिसकिएको छ। निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ। निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहने छन्। निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुने छन्।
प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रिय सभाका एकतिहाइ सदस्य प्रत्येकको दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ। राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्ष भए पनि पहिलोपटक गोलाप्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो। निर्वाचन चिह्न प्रदान भएसँगै निर्वाचन आचारसंहिता सबैका लागि लागू गराउने आयोगले योजना बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।