काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको केन्द्रीय समिति चयनमा आफूहरुले लोकतान्त्रिक विधि अपनाएको बताएका छन्। सोमबारको पहिलो केन्द्रीय समिति बैठकबाट पुनः अध्यक्ष निर्वाचित भएपछि सम्बोधन गर्दै उनले केन्द्रीय समिति गठन प्रक्रियाको बचाउ गरेका हुन्।
'प्रदेशका साथीहरुले आपसमा अन्तरक्रिया गरेर दिएको नामलाई नै आयोजक समितिले प्रस्तुत गरेका हौं। यसरी हेर्दा जनवादी र लोकतान्त्रिक विधिद्वारा यो केन्द्रीय समितिको निर्वाचन भएको हो। पूरै बुर्जुवा अराजकतातिर जाने खतरा थियो। हामीले त्यसो हुन दिएनौं। कुनै खालको निरंकुशता या कुनै एक व्यक्तिको आदेशअनुसार चल्ने पनि हुन दिएनौं,' उनले भने।
प्रचण्डले सामूहिक नेतृत्वको केन्द्रिकृत अभिव्यक्तिको रुपमा केन्द्रीय समितिलाई ग्रहण गरेको बताए। उनले दोहोर्याए, 'प्रत्येक प्रदेशमा नेतृत्वको जिम्मेवारी लिएका कमरेडहरुको राय सल्लाह सुझावलाई नै हामीले सम्मान गर्यौं। आत्मसात् गर्यौं। र, त्यसैलाई केन्द्रित गरेर हामीले महाधिवेशनको हलमा प्रस्तुत गर्यौं। र, महाधिवेशनले प्रचण्डको आदेशको रुपमा होइन। त्यतिबेलाको आयोजक समिति र स्थायी समितिको सर्वसम्मत प्रस्तावको रुपमा व्याख्या विश्लेषणसहित महाधिवेशनको हलले सर्वसम्मत रुपमा यो केन्द्रीय समितिलाई निर्वाचित गर्यो।'
उनले कतिपय मिडियामा प्रचण्डले आदेश दियो, ताली लगाउनुस् भन्यो, ताली लगाए भनेर लेखेको देखेको भन्दै त्यसलाई अपमान गर्न खोजेको रुपमा विश्लेषण गरे।

'हाम्रो ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा आएका झण्डै १८ सय हाराहारीका नेताहरुलाई जो अपमान गर्न खोजियो, मलाई बडो दुःख लागेको छ। नमीठो पनि लागेको छ,' उनले भने, 'जुन महाधिवेशनले देश र जनताको बारेमा, जनताको हक र अधिकारको बारेमा, देशको विकास निर्माण र समृद्धिको बारेमा बहस र छलफल गर्यो। गम्भीर जनवादी बहसबाट एउटा निचोड निकाल्ने प्रयास गर्यो र एउटा निष्कर्षमा पुर्याइदियो। त्यसलाई कसैको आदेशमा चलेको भनेर प्रचार गर्नुभन्दा ठूलो बिडम्बना केही हुन्छ जस्तो मलाई लाग्दैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।