काठमाडौं– प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिले महिला हिंसा, लैंगिक हिंसाका घटनाहरु संवेदनशील भई पूर्वाग्रह नराखी अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले महिला हिंसा, लैंगिक हिंसाका घटनामा संवेदनशील भई पूर्वाग्रह नराखी अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको हो।
समितिको बैठकले लैंगिक हिंसाका घटनाहरुप्रति संवेदनशील अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग र प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।
महिला हिंसाका सम्बन्धमा परेका उजुरीहरुलाई द्रुतमार्गबाट शीघ्र किनारा लगाउन साथै पीडितहरुको सुरक्षाको सुनिश्चितता गर्न पनि समितिले सरकारलाई सचेत गराएको सभापति निरुदेवी पालले बताइन्।
उनले न्यायका लागि माइतीघर मण्डलमा धर्नामा बसेका महिलाहरुको स्वास्थ्य स्थिति परीक्षण गर्न/गराउन र माग सम्बोधन हुने प्रत्याभूति गरी घर फर्किने वातावरण बनाउन समितिले राष्ट्रिय महिला आयोग, गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रहरी प्रधानलाई निर्देशन दिएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।