काठमाडौं- राष्ट्रिय सभाको २० पद रिक्त हुँदैछ। जसमध्ये १९ पदको लागि माघ १२ मा निर्वाचन हुनेछ भने १ पदमा राष्ट्रपतिबाट मनोनित हुनेछ। २०७५ असार ४ गते भएको गोलाप्रथामा उनीहरुको ४ वर्षे कार्यकाल कायम भएको थियो।
फागुन २० गतेपछि एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना (राष्ट्रपतिबाट मनोनित रामनारायण बिडारीसहित) , नेकपा एकीकृत समाजवादीका ४ जना र कांग्रेसका ३ जनाको पदावधि सकिने छ। गत जेठ १७ गते भएको उपनिर्वाचनबाट राष्ट्रिय सभा सदस्य भएका कांग्रेसका दृगनारायण पाण्डेय पनि पदमुक्त हुनेछन्। उनी गोलाप्रथाबाट चार वर्षे पदावधि निर्धारण गरेका चन्द्रबहादुर खड्काको स्थानमा आएकाले सोही अनुसार उनको पदावधि निर्धारण भएको हो।
सत्ता गठबन्धनमा आबद्ध दलहरुले रिक्त रहने पदहरुमा भागबण्डा गरेर निर्वाचन लड्ने सहमति गरेका छन्। सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यसअघि जुन पार्टीबाट निर्वाचित भएका थिए, त्यस स्थानमा सोही पार्टीलाई छाड्दै एमालेबाट निर्वाचित ८ पदमा भागबण्डा गर्ने भएका छन्। त्यसमध्ये कांग्रेस ३, माओवादी केन्द्र १, एकीकृत समाजवादी १, जसपा २ र राजमो १ पदमा प्रतिस्पर्धा गर्नेछन्।
समग्रमा भने, रिक्त १९ पदमध्ये कांग्रेस ६, माओवादी केन्द्र ६, एकीकृत समाजवादी ५, जसपा २ र राजमो १ पदका लागि प्रतिस्पर्धा गर्नेछन्।
मनोनित एक (रामनारायण बिडारी)को ठाउँमा भने कसलाई मनोनित गर्ने टुंगो नलागेको नेताहरुको भनाइ छ।
अहिले राष्ट्रिय सभामा एमालेका २६ (अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित), माओवादी केन्द्रका १५ (उपाध्यक्ष शशिकला दाहाल र राष्ट्रपतिबाट मनोनित रामनारायण बिडारीसहित), कांग्रेसका ७, एकीकृत समाजवादीका ७, जसपाका २, लोसपाका १ र स्वतन्त्र १ सांसद् छन्। तर, स्वतन्त्र निर्वाचित खिमलाल देवकोटा एकीकृत समाजवादीनिकट हुन्।
यी हुन् पदावधि सकिँदै गरेका सांसद
प्रदेश १
अगमप्रसाद वान्तवा राई / एमाले
नैनकला ओझा / एमाले / अन्य
परशुराम मेघी गुरुङ / एमाले / अन्य
प्रदेश २
सुमनराज प्याकुरेल/ एमाले/ अन्य
शशिकला दाहाल / माओवादी केन्द्र/ महिला
बागमती
राधेश्याम अधिकारी / कांग्रेस/ अन्य
उदया शर्मा पौडेल / एकीकृत समाजवादी/ महिला
गण्डकी प्रदेश
दीनानाथ शर्मा / माओवादी केन्द्र/ अन्य
खिमकुमार विक/ माओवादी केन्द्र/ दलित
शान्तिकुमारी अधिकारी जिसी / एकीकृत समाजवादी/ महिला
लुम्बिनी प्रदेश
कोमल वली / एमाले / महिला
रामलखन चमार / एमाले / दलित
दृगनारायण पाण्डे / कांग्रेस/ अन्य
कर्णाली प्रदेश
कविता बोगटी / एमाले / महिला
जीवन बुढा / माओवादी केन्द्र/ अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय
ठगेन्द्रप्रकाश पुरी / एकीकृत समाजवादी/ अन्य
सुदूरपश्चिम प्रदेश
चक्रप्रसाद स्नेही / एमाले / दलित
तारादेवी भट्ट / कांग्रेस/ महिला
शेरबहादुर कुँवर / एकीकृत समाजवादी/ अन्य
राष्ट्रपतिबाट मनोनित
रामनारायण बिडारी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।