काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जनाविरुद्ध दायर गरेको मुद्दाले सोमबार पनि सुनुवाइको पालो पाएन।
यसअघि पुस १२ गते उक्त मुद्दा पेसीमा चढेको थियो। उक्त दिन पनि हेर्न नभ्याउने हुँदै सुनुवाइ सरेको थियो। सोमबार उक्त मुद्दा न्यायाधीशद्वय मीरा खड्का र नहकुल सुवेदीको इजलासमा थियो। उक्त मुद्दा २४औं नम्बरमा थियो। इजलासले उक्त मुद्दा हेर्न नभ्याउने सूचीमा राखिसकेको छ।
तत्कालीन एमाले सांसदका रुपमा नेपालसहित १४ सांसदलाई एमालेले कारबाही गरेको निर्णय सदर हुनुपर्ने, उनीहरुले दर्ता गरेको नेकपा एकीकृत समाजवादीको वैधानिकता नभएको र सभामुख अग्नि सापकोटाले दल विभाजनमा सहयोग पुग्नेगरि निर्णय गरेको भन्दै ओलीले २०७८ भदौ १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
उक्त मुद्दामा असोज ५ गते न्यायाधीशद्वय दीपक कार्की र कुमार चुँडालको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै निर्वाचन आयोग र संसद्सँग सक्कल कागज माग्ने र विपक्षीबाट लिखित जवाफ मगाउने आदेश गरेको थियो।
नेपालसहित मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, पुष्पा कर्ण कायस्थ, लक्ष्मी चौधरी, मेटमणी चौधरी, कल्याणी खड्का, रामकुमारी झाँक्री, कलिला खातुन, निरा जैरु र सरला यादवलाई एमालेले निष्कासन गरेको दाबी गर्दै सभामुखलाई पत्र पठाएको थियो।
तर, उनीहरुले अलग पार्टी निर्माण गरेको भन्दै सभामुखले उक्त निवेदन खारेज गरेका थिए। सभामुखको उक्त कार्यविरुद्ध अहिले पनि एमाले अदालत र संसद् दुवैतिर रहेको छ। एमालेले संसद् पनि यही निहुँमा अवरुद्ध गर्दै आएको छ।
एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभाका सभामुख सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध छुट्टा–छुट्टै ३ थान रिट सर्वोच्च अदालतमा दायर गरेका थिए।
सरकारले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गरेर केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यले मात्रै पार्टी विभाजन गरी नयाँ दल दर्ता गर्नसक्ने गरी अध्यादेश ल्याएपछि माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएको थियो।
एमालेका ३० जना संघीय सांसद र ५५ जना केन्द्रीय सदस्यले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि निर्वाचन आयोगले भदौ ९ गते नयाँ दलको मान्यता दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।