काठमाडौं– यो वर्ष नेपालमा धान उत्पादन ८ दशमलव ७४ प्रतिशतले घटेको छ। गत असोज अन्तिममा देशभर परेको हावाहुरीसहितको अप्रत्याशित वर्षाका कारण धान उत्पादनमा कमी आएको बताइएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतवार मन्त्रालयमा पत्रकार सम्मलेन गर्दै धानको उत्पादनमा कमी आएको जानकारी दिएको हो।
मन्त्रालयले देशभरबाट संकलन गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा धानको उत्पादन विगत ५ वर्षयताकै कम भएको पाइएको छ।
मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर जमीनमा ५६ लाख २१ हजार ७ सय १० मेट्रिकटन धान उत्पादन भएकोमा चालू आर्थिक वर्षमा १४ लाख ७७ हजार ३ सय ७८ हेक्टर जमीनमा ५१ लाख ३० हजार ६ सय २५ मेट्रिकटन मात्र धान उत्पादन भएको छ।
गत आर्थिक वर्षको तुलनामा धानबाली लगाइएको क्षेत्रफल करीब ४ हजार हेक्टरले वृद्धि भएको भए पनि बेमौसमी वर्षाका कारण उत्पादकत्वमा समेत ९ दशमलव शून्य ९ प्रतिशतले गिरावट आएको छ।
बेमौसमी वर्षाले बढी धान उत्पादन हुने कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र कपिलवस्तु जिल्लामा अत्यधिक क्षति पुगेका कारण समग्र राष्ट्रिय धान उत्पादनमा कमी आएको हो।
प्रदेशगत रूपमा धान उत्पादनको आँकडा हेर्नेहो भने गत आवको तुलनामा गण्डकी प्रदेशबाहेक अन्य प्रदेशहरूमा धान उत्पादन ऋणात्मक रहन पुगेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।