फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले मानवअधिकारको सुनिश्चितताका लागि काम गरिरहेको बताएका छन्। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले मानवअधिकारकर्मीलाई पुरस्कृत गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
उनले मानवअधिकार संरक्षण र सम्वर्द्धनका लागि सरकारले मात्रै गरेर नहुने भन्दै सबै क्षेत्रबाट काम गर्न आवश्यक रहेको बताए। ‘मानवअधिकार लोकतान्त्रिक शासन व्यवस्थाको आधारशिला हो। नैसर्गिक अधिकार हो,’ उनले भने, ‘संरक्षण र सम्वर्द्धन गर्नु विधिको शासनमा सबैको दायित्व हो। लोकतान्त्रिक समाजका लागि मानवअधिकारको संरक्षण आवश्यक छ।’
उनले मानवअधिकारको विश्वव्यापी मान्यताप्रति नेपाल सधैँ संवेदनशील रहँदै आएको भन्दै नेपालको मानवअधिकारको अवस्थामा क्रमिक सुधार हुँदै आएको बताए।
‘मानवअधिकारप्रति नेपालको उच्च प्रतिबद्धताका कारण नेपालले अन्तर्राष्ट्रियस्तरमा महत्त्व पाउँदै आएको छ,’ उनले भने, ‘कोभिड-१९ को वर्तमान परिस्थितिमा पनि मानवअधिकारको संरक्षण र सम्वर्द्धनमा सरकारले अधिकतम ध्यान पुर्याउँदै आएको छ।’
नेपाल सरकारले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भइसकेपछि सरकारले त्यसको सम्मान र प्रवर्द्धनमा ध्यान दिएको प्रधानमन्त्रीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।