काठमाडौं- स्वास्थ्य सेवा विभागले कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' थप फैलिन नदिन प्रदेश र स्थानीय सरकारलाई निर्देशन दिएको छ।
ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तह, जिल्लाका स्वास्थ्य कार्यालय र सातवटै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई थप सतर्कता अपनाउन निर्देशन दिएको हो।
कोभिड महामारीको जोखिम कायमै रहेकाले संक्रमितको संख्या थप बढ्न नदिन पूर्वतयारी आवश्यक रहेको महाशाखाले जनाएको छ। जनस्वास्थ्यका मापदण्डहरुको पूर्णपालना गराउन, कोरोना परीक्षणको दायरा बढाउन, पहिचान भएका संक्रमितहरुको उचित व्यवस्थापन गर्न महाशाखाको निर्देशन छ।
यस्तै, संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी क्वारेन्टिन तथा परीक्षण गर्न, सीमा नाकामा प्रवेश गर्ने यात्रुहरुको प्रोटोकलअनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गहरुको पहिचान गरी खोप लगाउन र घरमै आइसोलेसन वा क्वारेन्टिनमा रहेका व्यक्तिहरुको 'फलोअप' एवं मापदण्ड पालनाको निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।