काठमाडौं- लोकतान्त्रिक एकताका विषयमा थप छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेसँगै कांग्रेस अन्य पार्टीसँग लोकतान्त्रिक एकताका लागि तातेको हो। लोकतान्त्रिक एकतासँगै आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा सरकारबाट माओवादीलाई हटाउने वा नहटाउने बारेमा पनि छलफल हुँदैछ।
बैठक शुक्रबार बिहान ८ बजे बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पौडेलले जानकारी दिए।
वाम गठबन्धनबाट नेपालको प्रजातन्त्र संकटमा परेको निष्कर्ष निकालेर गैरवामपन्थी शक्तिबीच तालमेलमा जुटेको कांग्रेसले केन्द्रीय समिति बैठकमा पार्टीको आगामी रणनीति तयार गर्ने बताइएको छ।
यसअघि बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले नै चुनाव गराउने निष्कर्ष निकाल्दै बृहत् लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको थियो।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्न कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउन ६ दल सहमत भइसकेका छन्। बुधबारको संयुक्त बैठकमा कांग्रेससहित ६ दलबीच आगामी चुनावमा सहकार्य गर्न ७ सदस्यीय कार्यदल बनाउने सहमति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।