फाइल तस्बिर
काठमाडौं– आगामी माघ १२ गतेका लागि तोकिएको राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा तीन सिटमा चुनाव हुने भएको छ। राष्ट्रिय सभाको चार वर्षको पदावधि पूरा गरी आगामी फागुनमा बिदाइ हुने सदस्यको खाली हुने स्थानमा निर्वाचन आयोगले निर्वाचन गर्न लागेको हो।
गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का दुई र नेकपा (एकीकृत समाजवादी)का एक गरी तीन सिट खाली हुने भएपछि सो सिटमा निर्वाचन हुन लागेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ।
माओवादीबाट दीनानाथ शर्मा ‘अन्य समूह’ र खिमकुमार विक ‘दलित’ समूहबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए। यसैगरी एकीकृत समाजवादीका शान्तिकुमारी अधिकारी ‘महिला कोटा’मा निर्वाचित भएकी थिइन्। उनीहरुको चार वर्षे पदावधि आगामी फागुनमा पूरा हुन लागेकाले निर्वाचन प्रक्रिया सुरु गरिएको प्रदेश निर्वाचन अधिकृत एवं कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए।
उनका अनुसार निर्वाचन तयारीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना, मतदाता नामावली प्रकाशन, नामावली उपर दाबी विरोधलगायत कार्यक्रम सम्पन्न भएका छन्। आगामी मंगलबार उम्मेद्वारको मनोनयन दर्ता हुने प्रमुख पराजुलीले बताए।
प्रदेश निर्वाचन कार्यालय पोखरामा हुने निर्वाचनका लागि दुई मतदान केन्द्र तोकिएको कार्यालयले जनाएको छ। प्रदेशसभा र स्थानीय तहका मतदाताका लागि छुट्टाछट्टै मतदान केन्द्र रहने कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले बताए।
गण्डकीमा ५९ जना प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख १७० गरी कुल २२९ मतदाता छन्। नेपालको संविधान जारी भएपछि विसं २०७४ माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन भएको थियो, जसमा प्रत्येक प्रदेशबाट एक दलित, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट गरी १४ जना बहुमतीय निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए।
यसैगरी प्रत्येक प्रदेशबाट तीन महिला र तीन अन्य समूहबाट गरी ४२ जना एकल संक्रमणीय निर्वाचन प्रणालीको आधारमा निर्वाचित भए भने मन्त्रिपरिषद्को सिफारिसमा एक महिलासहित तीन जना राष्ट्रपतिबाट मनोनित भएका थिए। राष्ट्रियसभामा कुल ५९ सदस्य रहने व्यवस्था छ।
निर्वाचित सदस्यको पदावधि छ वर्षको हुन्छ र एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ। पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको हुने गरी पदावधि कायम गरिएको छ।
पहिलो दुई वर्षमा पदावधि समाप्त भएका १९ जना सदस्यको विसं २०७६ माघ ९ गते राष्ट्रियसभाको निर्वाचन भएको थियो। चार वर्षमा पदावधि समाप्त हुने २० सदस्यका लागि माघ १२ गते सातै प्रदेशमा निर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।