काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालको सुरुवात गुटबन्दीबाट गरेको भन्दै नेता-कार्यकर्ताले विरोध जनाएका छन्। शनिबार १० जना केन्द्रीय सदस्य मनोनित गर्ने क्रममा देउवाले आफ्नो सहयोगीलाई मात्रै गरेको आरोप कांग्रेस नेता-कार्यकर्ताको रहेको छ।
देउवाले चुनावको समयमा तटस्थ बेसर सघाएका रामचन्द्र पौडेल, सभापतिको दोस्रो चरणको निर्वाचनमा सघाएका प्रकाशमान सिंह, विमलेन्द्र निधिलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। चुनावकै छेकमा देउवा गुटमा मिसिएका कृष्णप्रसाद सिटौला, देउवा प्यानलबाट उपसभापतिमा पराजित विजयकुमार गच्छदार, उपसभापतिमै पराजित सुजाता कोइराला, महामन्त्रीमा पराजित डा. प्रकाशशरण महत, देउवानिकट मानिने डा नारायण खड्का, उमा रेग्मी र मीनबहादुर विश्वकर्मा मनोनित भएका हुन्।
उनीहरुको मनोनयनलाई लिएर कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले 'प्रथमग्रासे मक्षिकापात' अर्थात् पहिलो गासमै झिंगा भन्दै टिप्पणी गरेका छन्। पदाधिकारीमै हारेका अर्को गुटका महेश आचार्य, डा मीनेन्द्र रिजाल र डा.चन्द्र भण्डारी छुटेको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'सभापति ज्यूले कांग्रेस विधान बमोजिम १० जना प्रत्यक्ष वा परोक्ष रूपमा आफ्ना सहयोगीहरूलाई केन्द्रीय समितिमा मनोनित गर्नुभएको छ। साथीहरुलाई हार्दिक बधाई। १० बाहेक अरु ४ जना महेश आचार्य, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारीलगायत छुट्दा 'प्रथम ग्रासे मक्षिकापात' देखियो।'
रामचन्द्र पौडेल मनोनित गरिएको विषयमाथि कांग्रेस नेता गुरुराज घिमिरेले प्रश्न उठाएका छन्। १४ औं महाधिवेशन अघिसम्म पौडेलनिकट रहेका घिमिरेको प्रश्न छ, 'महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया अलग्गिएको व्यक्ति कसरी मनोनीत हुनुभयो? राजनीतिमा नैतिकताको प्रश्न उठाउने उहाँ नै हैन? अनि साझा सभापति हुन्छु भन्ने नेताको चयन यही हो?’
पार्टीको चौधौं महाधिवेशनको नेतृत्व छनोट प्रक्रियाबाट पौडेलले अलग्गिने निर्णय लिएका थिए। उनी मतदान प्रक्रियामा सहभागी भएनन्। देउवाइतरको प्यानलबाट सभापतिमा उम्मेदवार बनेकाहरुलाई सघाउने अपेक्षा गरिएको थियो। तर 'विवेक प्रयोग गर्नुहोस्' भनेर उनले अप्रत्यक्ष रुपमा देउवालाई सघाएका थिए।
शुभचिन्तक र कार्यकर्ताको पनि विरोध
सभापति देउवाको यो निर्णयको नेताहरुले मात्रै होइन, शुभचिन्तक र कार्यकर्ताको तहबाट पनि भइरहेको छ। कांग्रेसका संस्थापक नेता विपी कोइरालालाई ट्विटरको प्रोफाइलमा राखेका कुशल कोइरालाले 'गुटको गन्ध आएको' भन्दै प्रश्न गरेका छन्, 'अझै गुटमै रमाउने हो सभापति ज्यू?'
उनले महामन्त्रीका प्रत्यासी महत मनोनित हुँदा प्रदीप पौडेल र मीनेन्द्र रिजाल, उपसभापतिका प्रत्यासी गच्छदार समेटिदा चन्द्र भण्डारी र महेश आचार्य नपर्नुका विषयमा पनि प्रश्न उठाएका छन्।
अर्का कांग्रेस कार्यकर्ता निराजन खनाले देउवा पार्टीको अस्तित्व नै समाप्त पार्ने खेलमा लागेको भन्दै खबरदारी गर्न आह्वान गरेका छन्। उनले ट्विटरमा सभापति देउवालाई मेन्सन गर्दै लेखेका छन्, 'नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको अस्तित्व नै समाप्त पार्ने खेलमा लागेका छन् खबरदारी गरौं।'
देउवालाई मात्रै होइन, देउवालाई साथ दिइरहेका नेताहरुलाई समेत खबरदारी गरेकी छिन् कांग्रेस कार्यकर्ता आशा जोशीले। उनी ट्विटरमा लेख्छिन्, 'पैसा, पद र पावरमा नेतृत्व पनि आफ्नो अस्तित्व बिर्सिदा रहेछन्! देउवाको दम्भ, अराजकतामा पनि देउवाकै साथमा उभिने नेताज्यू स्वयंको स्वाभिमान छ कि छैन?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।