काठमाडौं– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा शनिबारदेखि जलपक्षी गणना सुरु भएको छ। निकुञ्जभित्रका र बाह्य क्षेत्रका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको हो।
गणना अगामी माघ २ गतेसम्म जारी रहनेछ। यसका लागि निकुञ्ज कार्यालयका कर्मचारी, नेपाल पक्षी संरक्षण संघका विज्ञ, हिमाली प्रकृति, एनटिएनसी, नेचर गाइड एशोसिएशनका प्रतिनिधिलगायत सहभागी छन्। गणनामा संलग्नले वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरेको संघका चराविज्ञ हिरुलाल डगौराले जानकारी दिए।
स्थलगतरूपमा पुगेर र कुनै ठाउँमा डुङ्गालगायतमा चढेरसमेत जलपक्षी गणना हुने उनले बताए। रानीताल, ताराताल, कालीकिच ताल, बेदकोट, बन्दाताल, पुरैनीताल, प्याराताल, स्याली नदी, चौधर नदी र सीमसार क्षेत्रमा जलपक्षी गणना हुने उनले जानकारी दिए। अरु ताल र नदीमा पैदल हिँडेरै गणना हुने भए पनि निकुञ्जभित्रको सलगौँडी तालमा भने हात्तीमा चढेर गणना हुनेछ।
गत वर्षको गणनामा निकुञ्ज र बाह्य क्षेत्रका तालतलैयामा जलपक्षी गणनाका क्रममा विश्वकै दुर्लभ सारस, भुडिफोर गरुड, कैले टाउके हाँसलगायत ४८ प्रजाति देखापरेका थिए। तालतलैयामा जलपक्षीको संख्या यकिन गर्ने कार्यसँगै सिमसारको अवस्थाबारेमा समेत अध्ययन हुने विज्ञ डगौराले बताए।
उनका अनुसार सीमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त स्थान भएकाले बसाइँ सार्दै पाहुना जलपक्षी यहाँका सीमसार क्षेत्र, तालतलैया, नदीलगायतका क्षेत्रमा पुग्ने गर्दछन्।
केही जलपक्षी चिसो छल्नका लागि साइवेरियालगायत क्षेत्रबाट लामो दूरी तय गरी यहाँको बाटो प्रयोग गरी भारत र श्रीलङ्कातर्फ जाने गरेका छन्। बाटोको प्रयोग गर्ने क्रममा यहाँका तालतलैयामा बस्ने गरेका छन्।
यसैगरी शनिबारदेखि नै कैलालीको तालतलैया र सीमसार क्षेत्रमा समेत जलपक्षी गणना सुरु गरिएको छ।
कैलालीको घोडाघोडीसहित कोहली, लोकाभौका, घोडा, सुनियारुपिया, पुरैनालगायत ताल र कर्णाली नदीमा जलपक्षी गणना हुनेछ। कर्णाली नदीमा र्याफ्टिङको प्रयोग गरी जलपक्षी गणना हुनेछ। गत वर्षको गणनामा कैलालीका जलाधार क्षेत्रमा ३२ प्रजातिका जलपक्षी देखापरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।