काठमाडौं– नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको आरडब्लु विन्टर स्लाममा चट्टानले हेभीवेट बेल्टको उपाधि रक्षा गरेका छन्।
बूढानीलकण्ठको चुनीखेल मैदानमा भएको प्रतियोगिताको हेभीवेट उपाधिका लागि भएको प्रतिस्पर्धामा चट्टानले डेविडलाई हराउँदै हेभीवेट बेल्ट आफैसँग सुरक्षित राखे। उनले ८० हजार रुपैयाँ पुरस्कार पाए।
लाइट हेभीवेटमा साइनले यूबीएल स्टोनलाई पराजित गरे। उनले ५० हजार रुपैयाँ पुरस्कार पाए। त्रिपल थ्रेट म्याचमा बाकाले एक्स हिरो र योङ सेडीको चुनौती पन्छाउँदै ४५ हजार रुपैयाँ जिते।
लाइट वेट म्याचमा सिजे वल्र्डले महिला रेस्लर तनुलाई हराउँदै २५ हजार पुरस्कार जिते। निकै प्रतिस्पर्धात्मक हार्डकोर म्याचमा किङ रोबर्टले नुवाकोटे टाइगरलाई पराजित गरे। हार्डकोर च्याम्पियन किङ रोबर्टले ६० हजार प्राप्त गरे।
प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिका वडा १३ को विशेष सहयोग थियो। वडा १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले स्थानिय पर्यटनको प्रवद्र्धनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
जलवायु दिवासको उपलक्ष्यमा दोस्रो आरडब्लु विन्टर स्लाम सिन्धुपोलचोकको गुफा डाँडामा आइतबार नै हुने संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन्। जिल्ला विकास समन्वय समिति सिन्धुपालचोक र नेपाल रिङ रेस्लिङ संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने छ। हेभी वेट च्याम्पियनले ७५ हजार, हार्डकोर च्याम्पियनले ६५ हजार, मिडल वेट च्याम्पियनले ४० हजार, ट्याग टिम च्याम्पियनले ४० हजार तथा लाइट वेट विजेताले ३५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।
प्रतियोगिताको अनुमानित बजेट १० लाख रहेको छ। दोश्रो आरडब्लु विन्टर स्लाममा पनि नुवाकोटे टाइगर, चट्टान, डेभिड, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एन्जल, तन्नु, सिजे, एससी, किङ रोबोर्ट, जोन, बाका, युबिएललगायतका चर्चित खेलाडीको पनि सहभागिता रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।