पर्सा- पर्साको पोखरिया नगरपालिकामा अवस्थित पोखरिया अस्पताललाई स्तरवृद्धि गरी ५० शय्या बनाउन प्रदेश सरकारसमक्ष माग गरिएको छ। हाल १५ शय्याको उक्त अस्पताललाई स्तरोन्नति गरी ५० शय्या बनाउन प्रदेश सरकारसमक्ष माग गरिएको पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले जानकारी दिए।
सो अस्पतालको स्तरोन्नतिसहित भौतिक संरचना वृद्धिबारे सामाजिक विकासमन्त्री नवलकिशोर साहसमक्ष छलफल गरिएको नगरप्रमुख रौनियारले जानकारी दिए।
अस्पतालको हाल रहेको भवनमा माथिलो तल्ला थप गर्न मन्त्रालयसँग रकम निकासा गर्नसमेत माग गरिएको छ। साथै अस्पतालमा आवश्यक औषधिसहित शल्यक्रिया कक्ष, आइसियु तथा नवजात शिशु सघन हेरचाह एकाइ सेवा सञ्चालन गर्न थप रकम उपलब्ध गराउनसमेत प्रदेश सरकारसमक्ष माग गरिएको हो।
यसैबीच पोखरिया नगरपालिका–९ जगतपुरमा निर्माणाधीन अधुरो बर्थिङ सेन्टरको भवन निमार्णमा समेत सहयोग गर्न प्रदेश सरकारसमक्ष माग गरिएको छ। पोखरिया अस्पतालबाट पर्साका पोखरिया नगरपालिकासहित जिल्लाका अन्य ग्रामीण क्षेत्रका सेवाग्राहीले सेवा लिने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।