काठमाडौं– रामवृक्ष यावदको सालिकबारे नेकपा माओवादी केन्द्रमा फेरि विवाद निम्तिएको छ। विवाद उठेपछि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसबारे छानबिन गरेर कारबाही गर्ने वचन दिएका छन्।
शुक्रबार प्रतिनिधिहरूले आफ्नो दस्तावेजमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले छानबिन गरेर कारबाही गरिने बताएका हुन्।
प्रदेश २ बाट सत्यनारायण भगतले समूहको रिर्पोटिङ गर्ने क्रममा सहिद रामवृक्ष यादव‘माड्साब’को सालिक हटाएको विषयमा कुरा उठाएका थिए। उनले तत्कालीन शिक्षामन्त्री एवं माओवादी स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले सालिक हटाएर राजनीतिक अपराध गरेको आरोप लगाए। त्यसपछि माओवादी महाधिवेशनमा यो उठेको थियो।
बिहीबार त्यही विषयलाई लिएर पोखरेलपक्षका नेताहरुले शब्द फिर्ता नलिएसम्म बन्दसत्र चल्न नदिने चेतावनी दिए। विरोधकैबीच पोखरेल समर्थकले हस्ताक्षर समेत संकलन सुरु गरे। विवादले थप ठूलो रुप लिने देखेपछि प्रवक्ता कृष्णबहादुर महराले थामधुप पार्ने प्रयास गरे। अन्त्यमा भगतले आफूले राजनीतिक अपराध गरेको भन्ने शब्द फिर्ता लिएर दोषी भन्ने शब्द राख्न सहमत भएपछि बन्दसत्र चलेको थियो। भगतले लिखित रुपमा माफी पनि मागेका छन्।
शुक्रबार प्रचण्डले 'बोलेको शब्दको विषयमा छानबिन गरेर' कारबाही गरिने बताएका हुन्। महोत्तरीको बर्दिवास नगरपालिका–११ स्थित खयरमारामा तत्कालीन माओवादीले रामवृक्ष स्मृति ब्रिगेड अस्थायी क्याम्प खडा गर्यो।
त्यहाँ माओवादीका 'जनमुक्ति सेना'ले आश्रय लिए। सेना समायोजन भएपछि अस्थायी क्याम्प सरकारको मातहतमा आयो। त्यही अस्थायी क्याम्पसमा केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री भएका बेला पोखरेलले निर्मल लामा बहुप्राविधिक शिक्षालय स्थापना गरे।
निर्मल लामा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएपछि त्यहाँ भएको रामवृक्ष यादवको सालिक हटाएर निर्मल लामाको सालिक राखिएको थियो। त्यसपछि विवाद निम्तिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।