काठमाडौं– नेकपा माओवादी केन्द्रको महाधिवेशनको तेस्रो दिन रामवृक्ष यादव‘माड्साव’को सालिक हटाएको विषयमा विवाद उठ्यो। प्रदेश २ बाट सत्यनारायण भगतले समूहको तर्फबाट रिपोर्टिङ गर्ने क्रममा गिरिराजमणि पोखरेललाई सालिक हटाउनु राजनीतिक अपराध गरेको संगिठन आरोप लगाए। बुधबार त्यस विषयमा कतै समर्थन कतै विरोध भयो। सकियो।
महाधिवेशनको पाँचौं दिन बिहीबार त्यही विषयलाई लिएर पोखरेल पक्षका नेताहरुले शब्द फिर्ता नलिएसम्म बन्दसत्र चल्न नदिने चेतावनी दिए। विरोधकैबीच पोखरेल समर्थकले हस्ताक्षर समेत संकलन सुरु गरे। विवादले थप ठूलो रुप लिने देखेपछि कृष्णबहादुर महराले थामधुप पार्ने प्रयास गरे। अन्त्यमा भगतले आफूले राजनीतिक अपराध गरेको शब्द फिर्ता लिएर दोषी भन्ने शब्द राख्न सहमत भएपछि बन्दसत्र चल्यो।
‘हामीले रामवृक्ष यादवको सालिक हटाएको विषयमा गिरिराजमणि पोखरेल दोषी हुन् भन्ने विषय यथावत छ’बन्दसत्रमा सहभागी एक प्रतिनिधिले भने,‘तर, पोखरेललाई सालिक हटाउनु राजनीति अपराध भन्ने शब्द फिर्ता गरेर दोषी भन्ने राखेका छौं। त्यो सालिक हटाएको विषयमा विवाद यथावत छ। रामवृक्षको सालिकको उचित न्याय हुनुपर्छ।’
महोत्तरीको बर्दिवास नगरपालिका–११ स्थित खयरमारामा तत्कालीन माओवादीले रामवृक्ष स्मृति ब्रिगेड अस्थायी क्याम्प खडा गर्यो। त्यहाँ माओवादीका 'जनमुक्ति सेना'ले आश्रय लिए।
सेना समायोजन भएपछि अस्थायी क्याम्प सरकारको मातहात आयो। त्यही अस्थायी क्याम्पमा केपी ओली नेतृत्वको सरकारमा भएका बेला शिक्षामन्त्री गिरिराजमणि पोखरेलले निर्मल लामा बहुप्राविधिक शिक्षालय स्थापना गरे।
निर्मल लामा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएपछि त्यहाँ भएको रामवृक्ष यादवको सालिक हटाएर निर्मल लामाको सालिक खडा भयो। त्यसपछि विवाद निम्तियो। आस्थाको धरोहर मानिने रामवृक्षको सालिक हटाएर किन फालियो भन्दै विरोध जनाइयो। त्यो विषय अहिले पनि यथावत नै छ। पुनः महाधिवेशनको तेस्रो दिन समूहका तर्फबाट सत्यनारायण भगतले गिरिराजमणि पोखरेललाई सालिका हटाउनु राजनीतिक अपराधको आरोप लगाएपछि विवाद भयो।
अहिले पनि त्यहाँ निर्मल लामाको सालिक राखेपछि रामवृक्ष यादवको सालिक अलपत्र छ। त्यस विषयमा माओवादीभित्र समय समयमा विवाद हुने गरेको छ।
तत्कालीन राज्य पक्षले माओवादीका केन्द्रीय सदस्य यादवलाई २०५१ साल भदौ १ गते राति पार्टीको कार्यक्रम सकेर घर फर्किने क्रममा जनकपुरमा हत्या गरेको थियो। उनको हत्यामा संलग्न अझैसम्म पत्ता लागेको छैन। उनको स्मरणमा माओवादीले हरेक भदौ २ गते रामवृक्ष यादव स्मृति दिवस मनाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।