काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुट्नुमा पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल जिम्मेवार भएको आरोप लगाएका छन्। प्रचण्ड र माधव नेपाललाई लिएर आफूले सरकार र पार्टी चलाउनु पर्ने भए पनि दुवै 'सेनापति' दलाल निस्किएर पार्टी फुटाउन लागेको उनले आरोप लगाए।
वैदेशिक रोजगारीबाट फर्केकाहरुको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले दुई नेता पार्टीका सेनापति भएर पनि पार्टी फुटाउन लागेपछि आफू समस्यामा परेको बताए।
सेनापति नै दलाल भएपछि बंगालमा अंग्रेजविरुद्धको लडाइ सफल हुन नसके ओलीले उदाहारण दिए।
'सेनापतिले नै अंग्रेजको दलाली गरेको भन्दै उनका ज्वाइ पर्नेलाई नियुक्त गरियो तर उ त झन् ससुराबाट नै सिकेको के छाड्थ्यो। गलत मानिसलाई छानेपछि त्यस्तै हालत हुन्छ' ओलीले भने, 'प्रचण्ड र माधव नेपाललाई लिएर पार्टी र सरकार चलाउनु पर्नेमा सेनापतिहरु नै पार्टी फुटाउन लागे बंगाली नबाबकै ताल भयो मेरो।'
ओलीले वामगठबन्धन गरेर चुनाव जितेको भए पनि आफूलाई काम गर्न नदिएपछि नयाँ जनादेशका लागि जान चाहेको बताए।
'चुनावी तालमेलबाट भोट मागेका थियौं तर त्यो असफल भयो। घोषणापत्रमा भनेअनुसार नभएपछि नयाँ घोषणापत्र लिएर ताजा जनादेशमा जान चाहन्छौं भनेको अधिनायकवाद, तानाशाह र हुँदा हुँदा प्रतिगमन भन्दै बुद्धिजीवीहरु कराउन थाले' उनले भने, 'लोकतन्त्रमा चुनावमा जाँदा प्रतिगमन भयो रे!'
आफ्नो सरकार हुँदा कतै जनता नमारिएको, दमन नभएको र विपक्षीमाथि केही नगरेको बताउँदै उनले बाहिर विश्वविद्यालयमा पढेर आएकाहरुले नै कुरा नबुझेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।