काठमाडौं– नेकपा (एमाले)को बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन काठमाडौंमा हुने भएको छ। कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा सम्पन्न आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले आगामी माघ ८ र ९ गते काठमाडौंमा अधिवेशन गर्ने निर्णय गरेको हो।
बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिसमेत गठन गरेको छ। बैठकले राजनीतिक/सांगठानिक प्रतिवेदन तयारीका लागि अध्यक्ष पाण्डे, आर्थिक व्यवस्थापनमा उपाध्यक्ष रामहरि सुवेदी, प्रतिनिधि व्यवस्थापनमा सचिव विजय सुवेदी, प्रचारप्रसारमा उपसचिव रत्न गुरुङ हल, मञ्च र खाद्य व्यवस्थापनमा उपसचिव महेशकुमार बर्तौला, अतिथि सत्कारमा सचिवालय सदस्य अप्सरा चापागाई, स्वास्थ्य प्रदेश सदस्य डा रामकुमार अधिकारी र स्वयंमसेवक परिचालनमा प्रदेश सदस्य उपेन्द्र पौडेललाई संयोजक तोकेको छ।
अधिवेशनका लागि आगामी माघ २ गतेभित्र प्रतिनिधि छनोट गरिसक्नुपर्ने तय गरिएको उपसचिव गुरुङले जानकारी दिए।
बैठकमा पार्टीका बागमती इञ्चार्ज काशीनाथ अधिकारी, सहइञ्चार्ज कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङको उपस्थितिमा थियो। एमालेले सबै प्रदेशमा यही पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।