काठमाडौं- हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जरमा जानका लागि साधारणसभा बोलाएका छन्। दुवै बैंकले गत वैशाखमा मर्जरमा जाने सम्झौता गरेका थिए।
हिमालयन बैंकले पुस ३० गते नियमित साधारणसभा बोलाएको छ। जसमा हिमालयनले आफ्नो वार्षिक प्रतिवेदनका साथै लाभांश पारित गर्ने र इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्ने जानकारी दिएको छ।
यता इन्भेष्टमेन्ट बैंकले माघ ४ गतेका लागि विशेष साधारणसभा बोलाएको छ। इन्भेष्टमेन्टको नियमित साधारणसभा भने यसअघि नै सकिएको छ। बैंकको विशेष साधारणसभाले हिमालयन बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्ने बैंकले जनाएको छ।
बैंकहरुको मर्जरका लागि सम्पत्ति र दायित्वको मूल्यांकन गर्ने काम टीआर उपाध्यायको फर्मले गरेको थियो। यी दुई बैंक १:१ को सेयर अनुपातमा मर्जरमा लागेका हुन्। मर्जरपछि हिमालयन इन्भेष्टमेन्ट बैंकको नामबाट एकीकृत कारोबार गर्ने सहमति यसअघि नै दुई बैंकबीच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।