काठमाडौं- जिल्ला अदालत काठमाडौंले संगठित ठगीको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।
बुधबार थुनछेक बहसपछि अदालतले उक्त आदेश दिएको हो।
सिभिल सहकारी ठगी प्रकरणमा पक्राउ परेका इच्छाराज नेकपा (एमाले)का पूर्वसांसद समेत हुन्।
उनीसहित ४२ जनालाई प्रतिवादी बनाउँदै सरकारी वलिक कार्यालयले संगठित ठगीमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
सिभिल सहकारीमा निक्षेपकर्ताले जम्मा गरेको रकम नतिरेपछि इच्छाराजविरुद्ध पीडितले सीआईबीमा उजुरी दिएका थिए। पीडितको उजुरीका आधारमा सुरुमा सीआईबीले इच्छाराजसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा इच्छाराजले आफ्ना विभिन्न कम्पनीका नाममा बिना धितो ऋण लिएर नतिरेपछि सिभिल सहकारीका निक्षेपकर्ताको रकम फसेको पाइएको थियो।
सिभिल सहकारीबाट बिना धितो अर्बौं ऋण लिएर सिभिल होम्समा इच्छाराजले लगानी गरेको र सहकारीको रकम नर्तिदा निक्षेपकर्ताको रकम फसेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
हालसम्म १५ सय ३ जनाको मात्रै ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ९३७ रुपैयाँ इच्छाराजलगायतको समूहले ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
ठगी भएको रकम बराबरको बिगो माग दाबी गर्दै इच्छाराजसहित ४२ जनालाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालयले मंसिर १७ गते अदालतमा मुद्दा दर्ता गरेको थियो।
बिगोबापत ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ९३७ रुपैयाँ जरिवाना मागदाबी गरिएको थियो।
ठगीसँगै ७५ वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई ठगी गरेको पुष्टि हुन आएकाले मुलुकी अपराध संहिताको दफा २४९ को उदफा (३) को (ग) बमोजिमको सजाय र संगठित ठगी भएको पाइएकाले संगठित अपराध निवारण ऐन, २०७० अनुसार कसूरमा सजाय मागदाबी गर्दै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको थियो।
इच्छाराजबाट ठगिनेको सूचीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा सुमित्रा श्रेष्ठ अमात्यदेखि पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवालसम्मको नाम उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।