काठमाडौँ- नेपालको यू-१९ राष्ट्रिय क्रिकेट टोलीको इतिहास गर्व गर्न लायकको छ। महत्त्वपूर्ण प्रतियोगितामा नेपालले टेस्ट राष्ट्रहरूलाई पनि पराजित गरेको छ। यू-१९ एसिया कपमा नै पनि सन् २०१७ मा नेपाल सेमिफाइनलसम्म पुगेको थियो।
मलेसियामा आयोजना भएको उक्त प्रतियोगितामा नेपाललाई फाइनल खेल्ने ठूलो अवसर थियो। तर, सेमिफाइनलमा अफगानिस्तासँग ७ विकेटले हार्न पुग्यो। पछिल्लो पटक सन् २०११ मा अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको नेपाल ६ वर्षपछिको महत्त्वपूर्ण खेलमा भने पराजित भयो।
अन्तिमसम्म संघर्ष गरेर नेपाल सेमिफाइलनमा पुगेको थियो। सुरुका दुई खेलमध्ये नेपालले भारतलाई पराजित गरेको थियो भने बंगलादेशसँग हारेको थियो। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको नेपाली टोलीले भारतलाई १९ रनले हराएको थियो। अन्तिम खेलमा जित्नुपर्ने मात्र होइन भारत बंगलादेशसँग हार्नुपर्ने अवस्था थियो। वर्षाले प्रभावित दुवै खेलमा नेपालले मलेसियालाई तथा बंगलादेशले भारतलाई समान ८ विकेटले पराजित गरे।
नेपाल त्यतिबेला पहिलोपटक सेमिफाइनल पुगेको थियो। कुनै बेला बलिया टेस्ट टोलीलाई हराउँदै यू-१९ विश्वकपको ‘प्लेट च्याम्पियन’सम्मको उपाधि जितेको नेपालको युथ टोली बलियो मानिन्थ्यो। उमेर समूहमा राम्रो छाप छोडेको नेपाल यसपटक पनि यू-१९ एसिया कपमा पुरानै प्रदर्शन दोहोर्याउन चाहन्थ्यो।
मलेसिया उड्नुअघि कप्तान देव खनालमा आत्मविश्वास पनि झल्कन्थ्यो। उनले भनेका थिए, ‘बंगलादेश र श्रीलंका टेस्ट टोली हुन्। नेपाल पनि राम्रो खेलिरहेको टोली हो। हामी राम्रो प्रतिस्पर्धा दिनेछौं। हाम्रो लक्ष्य राम्रो क्रिकेट खेल्दै नेपाललाई गर्व गराउने हो। टिमको हिसाबमा हाम्रो लक्ष्य फाइनल जित्ने नै हो।’
दुर्भाग्य! नेपालले समूहचरण पार गर्नु त परै जाओस् कसैले कल्पनै नगरेको कुवेतसँग पनि एक विकेटले हार्न पुग्यो। नेपाल तीन खेलमा जितविहीन हुँदै बाहिरियो।
नेपालले उमेर समूहको खेलमा यसअघि कुवेतसँग हारेको रेकर्ड थिएन। सबै खेलमा सहज जित हात पारेको थियो। २०१९ मा ८ विकेट, २०१५ मा ८३ रन, २०१४ मा २६२ रन र २०१३ मा ८४ रनले विजयी भएको थियो। तर, यसपटक खराब बलिङका कारण नेपाल पराजित भयो।
नेपालको प्रदर्शन कुवेतसँग मात्रै होइन बंगलादेश र श्रीलंकासँग पनि राम्रो रहेन। पहिलो खेल बंगलादेशसँग १५४ र दोस्रो खेल श्रीलंकासँग ६० रनले गुमायो। नेपाल समूह ‘बी’ कै कमजोर टोली सावित भयो।
यसअघि प्रशिक्षक वसन्त शाही ठकुरीले नेपालले फेरि ‘आश्चर्यचकित’ पार्ने गरी प्रदर्शन गर्ने बताएका थिए। तर, बंगलादेश र श्रीलंका निकै बलियो टोली थिए। सन् २००८ यता बंगलादेशको यू-१९ टोलीसँग पाँच खेल खेलेको नेपाल चारपटक हारेको छ। एउटा खेल वर्षाले हुन सकेन।
नेपाल र श्रीलंका यू-१९ बीच पनि सन् २००८ यता पाँच खेल नै भएका छन्। सबै खेलमा नेपाल पराजित भएको छ। सन् २०१६ को एसिया कपबाहेक अन्य सबै खेलमा नेपालले सहजै हार बेहोरेको थियो। २०१६ मा भने दीपेन्द्रसिंह ऐरीले ९० रनको इनिङ्स खेल्दा नेपाल १ रनको साँघुरो हार बेहोर्न बाध्य भएको थियो।
यसपटक पूरै प्रतियोगितामा नेपाली ब्याट्सम्यानले निराश तुल्याए। अधिकांश अलराउन्डर बोकेर प्रतियोगितामा उत्रिएको नेपालका लागि बसिर अहमद, अर्जुन साउद र विवेक मगरले मात्रै सन्तोषजनक खेल देखाए। तीनै जनाले एक-एक अर्धशतक बनाए।
बसिरले समूहचरणका तीन खेलमा एउटा अर्धशतकसहित १०७ रन बनाए। अर्जुनले तीन खेलमा ८९ र विवेकले ८५ रन बनाए। अन्य खेलाडीले भने खासै प्रभाव जमाउन सकेनन्। प्रारम्भिक ब्याट्सम्यान तथा कप्तान देवले तीन खेलमा ४५ रन मात्रै बनाउन सके।
ब्याटिङ मात्रै नभएर समग्र प्रतियोगितामा नेपालको बलिङ पनि उत्तिकै खराब देखियो। सिनिर टोलीमा स्थान बनाइसकेका गुलशन झाले तीन खेलमा २६ ओभर बलिङ गर्दै १६० रन दिएर जम्मा चार विकेट लिए। विवेक यादवले १२९ रन दिएर ३ विकेट लिए। कप्तान देवले २५ ओभरमा ९९ रन दिँदा विकेटविहीन बने।
घरेलु लिगमा ‘धमाका’, अन्तर्राष्ट्रिय प्रतियोगितामा फितलो
नेपालको ब्याटिङ सिनियर, उमेर समूह र महिला टोली सबैको कमजोर मानिन्छ। तर, उमेर समूहको टोलीसँग यसपटक त्यो तथ्यलाई गलत सावित गराउने मौका थियो। घरेलु क्रिकेटको प्रदर्शन हेर्ने हो भने नेपाली उमेर समूहको टोलीको खुबी नै ब्याटिङ थियो।
एसिया कपमा सहभागी हुनुपूर्व सम्पन्न यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कप्तान देवले लुम्बिनी प्रदेशलाई च्याम्पियन बनाउन ६ खेलमा चार अर्धशतक प्रहार गरेका थिए। गण्डकीबाट खेलेका अर्जुन कुमालले प्रधानमन्त्री कप र यू-१९ राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए। मलेसिया जानुअघि भएको अभ्यास खेलमा नेपाली घरेलु क्रिकेटको बलियो टोली पुलिसलाई ७ विकेटले हराउँदा अर्जुनले ९३ रनको सानदार इनिङ्स खेलेका थिए। तर, बंगलादेशविरुद्धको एउटा खेलमा मात्र मौका पाएका उनले जम्मा ५ रन बनाए।
अलराउन्डर विवेक यादवले पछिल्लो समय घरेलु क्रिकेटमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै आएका छन्। ब्याटिङमा टिकेर खेल्नसक्ने र आवश्यकता पर्दा आक्रामक पनि बन्ने क्षमताका कारण उनी भविष्यमा आशा गरिएका खेलाडी हुन्। ‘फिनिसर’को भूमिका पाएका उनले यसपटक एसिया कपमा ब्याटिङमा गतिलो प्रदर्शन गर्न सकेनन्।
नेपालको बलिङ पनि गतिलो हुन सकेन। यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सबैभन्दा सफल रहेका बलर मोहम्मद हुसैन घाइते हुँदा नेपालले त्यसको मूल्य चुकाउनुपर्यो। बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले राष्ट्रिय प्रतियोगिताको पावर प्लेमा विपक्षीको शीर्षक्रमका प्रमुख विकेट हात पारेका थिए। उनले लिएका १३ मध्ये शीर्षक्रमका सात, मध्यक्रमका चार र तल्लोक्रमका दुई विकेट थिए। उक्त प्रतियोगितामा ५५ ओभर बलिङ गर्दा १२ ओभर मेडनसहित १९३ रन खर्चेर १३ विकेट लिएका थिए।
गत असोजमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्ल्याडियटर्सबाट खेलेका उनले निकै राम्रो छाप छाडेका थिए। उनलाई नेपाली सिनियर टोलीकै भविष्यको रुपमा हेरिएको छ। तर, दुर्गेशले एसिया कपमा त्यो जादुमयी प्रदर्शन देखाउन सकेनन्।
कहाँ चुक्यो क्यान?
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको समापन समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एक रत्ती अन्याय हुन नदिने संयत्र बनाएको बताएका थिए।
समापन समारोहमा निकै कडा अभिव्यक्ति दिने क्रममा उनले खेलाडी छनोट निष्पक्ष गर्ने र उत्कृष्ट प्रदर्शन गर्नेलाई कसैले लुकाउन नसक्ने बताएका थिए। उनले सिनियर टोलीका पूर्वकप्तान पारस खड्कातर्फ संकेत गर्दै भनेका थिए, ‘क्यान निलम्बनमा हुँदा खेलाडी छनोटमा आर्थिक चलखेलसमेत हुने गरेको थियो। तर, यसपटक खेलाडीको प्रदर्शनकै आधारमा छनोट हुने परिपाटी बनाइएको छ।’
चन्दको उक्त भनाइले युवा खेलाडी निकै उत्साहित थिए। कुनै पनि खेलाडी छनोट गर्दा प्रदर्शन मात्र होइन उसको क्षमता पनि हेरिन्छ। क्यानको मुख्य छनोट समितिमा पूर्वकप्तान उत्तम कर्माचार्य र बासुदेव जोशी थिए। छनोट समितिलाई राय दिन पूर्वक्रिकेटर दीपेन्द्र चौधरी र चन्द्र सावदसहित तीन जना थिए।
तर, चन्दले दिएको अभिव्यक्तिको चार घण्टापछि यू-१९ को प्रारम्भिक टोली घोषणा हुँदा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी समेटिएनन्। प्रतियोगिताकै उत्कृष्टमध्येका एक मानिएका तीव्र गतिका बलर दुर्गेश गुप्ता नै टोलीमा थिएनन्। त्यस्तै, लुम्बिनीलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका विशालविक्रम केसी पनि अटाएनन्।
विशालले ५ इनिङ्समा १०६ रन बनाउनुको साथै १० विकेट लिएका थिए। बसिर अहमदपछि १०० रन बनाउने र १० विकेट लिने खेलाडीको सूचीमा उनी नै थिए। नेपाललाई यू-१६ इस्टर्न रिजनको उपाधि जिताइसकेको टिमका कप्तान हुन् विशाल।
त्यस्तै, प्रदेश १ का स्पिनर लव कामत पनि टोलीमा परेनन्। लवले ६ खेलमा १२ विकेट लिएका थिए। पछिल्लो समय सिनियर टोलीमा निरन्तर बन्द प्रशिक्षणमा रहँदै आएका लोकेश बमलाई क्यानले प्रारम्भिक टोलीमा नै छनोट गरेन। एसिया कप खेल्न गएको नेपाली टोलीमा यसअघि यू-१९ खेलेका शेर मल्ल, विवेक यादव र तिलकराज भण्डारी मात्र समेटिए। अन्य सबै नयाँ थिए।
अवस्था कस्तो रह्यो भने, क्यानले टोली घोषणा गर्दा बलिङ ‘डिपार्टमेन्ट’ नै थिएन। नेपाली टोलीमा यसपालि ‘जिनियस’ बलरभन्दा पनि अलराउन्डर छनोट गरिएको थियो। फर्ममा नरहेका गुलशन झालाई सिनियर टोलीमा खेलेकै आधारमा समावेश गरिएको थियो।
नेपाली क्रिकेटको परम्परा नै हो, जित्यो भने खेलाडीलाई बधाई दिने, हार्यो भने मैदानलाई दोष। तर, यसपटक मैदानलाई दोष दिएर उम्कन भने प्रशिक्षक ठकुरीले पाउने छैनन्। यति ठूलो प्रतियोगितामा सहभागी हुन एक साता वा १० दिनको प्रशिक्षणले पुग्दैन। यही प्रतियोगितामा सहभागी हुन श्रीलंकाले इंग्ल्यान्डसँग पाँच एकदिवसीय खेलको शृंखला खेलेर मलेसिया पुगेको थियो । बंगलादेशले पनि विभिन्न उमेर समूहमा खेलिरहेको खेलाडी समेटेर बलियो टोली बनाएको थियो।
तर, नेपाली खेलाडीका लागि ‘एक्सपोजर’ प्रतियोगिता नै भएन। क्यानले १२-१३ दिनको क्याम्प गर्यो। एपीएफ र पुलिससँग दुई अभ्यास खेल खेलायो। क्यान र केही सिनियर खेलाडीबीच टकराव हुँदा राष्ट्रिय टोलीसँग अभ्यास खेल हुन सकेन। नेपाली टोली यतिकै भरमा प्रतियोगिता खेल्न पुगेको थियो। जसको नतिजा निराशाजनक भयो। न त प्रशिक्षक ठकुरीले भनेजस्तो नेपालले टेस्ट राष्ट्रलाई ‘चकित’ बनायो, न त एउटा खेलमा विजयी नै भयो। बरु कमजोर मानिएको कुवेतसँग पहिलोपटक पराजित भएर घर फर्किएको छ।
तस्बिरहरु: क्यान
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।