काठमाडौं– नागरिकता विहीनहरुको कथा समेटिएको नाटक ‘ढकिया में नागरिकता’ माघ १ गतेबाट प्रदर्शन हुने भएको छ। रंगकर्मी सरिता साहको निर्देशनमा बनेको नाटक माघ १ गतेबाट १० दिनलाई पुरानो बानेश्वर, बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुन लागेको हो।
नाटकमा जन्मसिद्ध नागरिकता पाएका बुबाआमाको सन्तान वंशजको आधारमा दिइने नागरिकताबाट वञ्चित भएकोदेखि नेपाली युवकसँग विवाह गरेकी विदेशी महिला श्रीमानको मृत्युपछि नागरिकता नभएकै कारण कसरी राज्यले दिने सेवा सुविधाबाट वञ्चित हुन्छिन् भन्ने कथालाई नाटकमा देखाइएको छ। राज्यले नागरिकताको विषयमा अपनाएको निति र त्यसका कारण अनागरिक हुनुपरेका लाखौं नागरिकको कथालाई नाटकमा प्रस्तुत गरिएको छ।
साहको निर्देशनमा बनेको नाटकमा साहसँगै अनिल कुर्मी, सुजिता साह, राज शर्मा पंगेनी, आदित्य मिश्रा, हाङ ओ राईलगायतले अभिनय गरेका छन्। सँगै रमिता यादव, सञ्जय मुडियारी, सुदीपजंग कार्की, सुदीप पटेल, सुस्मिता पोखरेललगायतको अभिनय पनि नाटकमा हेर्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।