काठमाडौं– नेकपा माओवादी केन्द्र प्रदेश १ का प्रतिनिधिले अध्यक्ष प्रचण्डको दस्तावेजमाथि प्रश्न उठाएका छन्। उनीहरूले नेपाली समाजवादको मौलिक बाटो के हो भन्दै प्रश्न उठाएका हुन्।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनका विषयमा टिप्पणी गर्नेक्रममा प्रदेशका प्रतिनिधिले समाजवाको मौलिक बाटोका विषयमा अस्पष्ट भएको बताएका हुन्। अध्यक्ष प्रचण्डले बन्दसत्रमा पेस गरेको ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ भन्ने राजनीतिक प्रतिवेदनका विषयमा सुझाव दिने क्रममा प्रतिनिधिहरुले यसमा स्पष्ट हुनुपर्ने बताएका हुन्।
‘पार्टीले समाजवादी यात्रामा जाने भनेको छ। त्यस यात्राका विषयमा स्पष्ट भएन भन्ने छ। साम्राज्यवाद, विस्तारवाद, भूमण्डलीकरण पुँजीवाद, वित्तिय पुँजीवादको कुराका विषयमा व्याख्या पुगेन’ प्रतिनिधहरूको भनाइ उदृत गर्दै केन्द्रीय सदस्य हेमराज भण्डारीले भने, ‘भोलिदेखि नै माओवादी कसरी अगाडि बढ्ने छ। कस्तो अजेण्डा उठाएर जान्छ। समाजवादका आधारहरु के के हुन्? समाजका समृद्धिका आधारहरु के के हुन्? नेपाली समाजवादको मौलिक बाटो के हो? त्यसका विषयमा स्ष्पष्ट हुनुपर्यो।’
नेपाली समाजको वर्ग विश्लेषणका विषयमा समेत थप व्याख्या हुनुपर्ने प्रतिनिधिहरूले माग राखेका छन्। कांग्रेस, एमाले एकीकृत समाजवादी, राप्रपा,मधेशकेन्द्रित दलका विषयमा समेत दृष्टिकोण बनाएर जानुपर्ने उनीहरूको भनाइ छ। महाधिवेशनमा विभाजन गरिएका २५ समूहका समूह नेताले आ-आफ्नो समूहको रिर्पोट प्रस्तुत गर्ने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।